राजनीतिसमाचार

तीन तहका सरकारले आ-आफ्ना डम्फु बजाएर कतै पुगिन्न – कृषिमन्त्री भुसाल

नेपालअखबार, काठमाडौँ   । कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालले तीन तहका सरकारले समन्वयात्मक ढंगले काम गर्नुपर्नेमा जोड दिनुभएको छ  ।

देशका सात वटै प्रदेशका कृषि मन्त्री, पोखरा महानगरपालिकाका मेयर, प्रदेशका कृषि सचिव बीच भएको विषयगत समितिको बैठकलाई सम्बोधन गर्दै मन्त्री भुसालले तीन तहकै सरकार बीच समन्वयको जरुरी भएको औँल्याउनु भयो  ।
‘अर्थतन्त्रको बलियो आधार कृषि र पशुपालन नै हो ।

यसलाई प्रभावकारी ढंगले भूमिका निर्वाह गर्नका लागि हामी बीच समन्वयको जरुरी छ । आ-आफ्ना डम्फु बजाएर हिँडे कतै पुगिन्न् । मुलुकको विकासको लागि मिलेरै अगाडि बढौँ,’ मन्त्री भुसालले भन्नुभयो  ।
मन्त्री भुसालले अब छिट्टै कृषि ऐन ल्याउने गरी तयारी भइरहेको जानकारी दिंदै कृषि ऐन बनाउँदा आवश्यक छलफल भइरहेको र अझै ऐनमाथि सुझाव, सल्लाह दिन चाहे एक हप्ता भित्र सुझाव दिन प्रदेश र स्थानीय सरकारलाई आग्रह गर्नुभयो  ।

साथै मन्त्री भुसालले कृषि उपज निर्यातको सम्बन्धमा भारतसँग कुराकानी भइरहेको जानकारी दिँदै  आफ्नो पहलमा स्कुज, टमाटर लगायतका कृषि उपज निर्यात भएको बताउनु भयो  । अझ निर्यातलाई प्रभावकारी बनाउनका लागि आगामी सेप्टेम्बरमा दुई देशका सचिव स्तरीय बैठक आयोजना हुने भन्दै उक्त  बैठकले दुई देश बीच कृषि र गाईपालनबारे आवश्यक निर्णय लिने विश्वास व्यक्त गर्नुभयो  ।

मन्त्री भुसालले सम्भावित विपतबारे पूर्व तयारी गर्नुपर्नेमा जोड दिंदै  आजभन्दा तीन बर्ष पहिले आएको लम्पीस्किन रोग देशभर फैलनुको कारण पूर्व तयारीकै कमी भएको बताउनु भयो  ।  ‘हामी रोग, उपचार र नियन्त्रणमा मात्र होइन् सम्भावित विपत आँकलन गरेर अगाडि बढ्नुपर्ने आवश्यकता छ । तीन बर्ष पहिले देखिएको लम्पीस्किनलाई समयमा नियन्त्रण गर्न नसक्दा आज यो स्थिति आएको हो, मन्त्री भुसालले भन्नु भयो , ‘हामी यस्ता जोखिमबारे पहिल्यै नै सचेत बन्नुपर्छ ।’

लम्पीस्किनबाट प्रभावित किसानलाई राहत उपलब्ध गराउनेबारे आवश्यक तयारी भइरहेको भन्दै  ‘राहतलाई के आधारमा, कुन मापदण्ड र कुन प्रक्रियाबाट वितरण गर्ने भन्नेबारे पशु सेवा विभागले काम गरिरहेको छ, मन्त्री भुसालले भन्नुभयो , ‘विभागले कार्यविधि निर्माण गरेपछि छिट्टै नै राहत वितरण गर्छौ ।’

उक्त बैठकमा संघ, प्रदेश र स्थानीय तह कृषि तथा पशुपन्छी क्षेत्र समन्वय निर्देशिकाबारे आवश्यक छलफल गरी यसलाई पारित गर्ने निर्णय भएको छ ।

the authoradmin