नेपालअखबार, काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले गैरआवासीय नेपाली नागरिकतासम्बन्धी नियमावली छिट्टै निर्माण गरी सहजै नागरिकता प्रदान गर्न सहजीकरण गर्ने प्रतिबद्धता जनाएका छन् ।
सिंहदरबारस्थित गृहमन्त्रालयमा गैरआवासीय नेपाली सङ्घका कार्यकारी अध्यक्ष डा बद्री केसीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलसँगको भेटमा उनले गैरआवासीय नेपाली नागरिकतासम्बन्धी नियमावलीमा समावेश गरिने प्रावधान गैरआवासीय नेपालीमैत्री बनाउन सरकार प्रतिबद्ध रहेको बताए।
भेटमा कार्यकारी अध्यक्ष केसीसहित उपाध्यक्ष डिबी क्षेत्री, आइसिसी युवा संयोजक अब्दुल बासिद, युरोप क्षेत्रीय संयोजक सन्तोष भट्टराई, एनसिसी थाइल्याण्डका भविन्द्र बस्नेत, पूर्वसल्लाकार टिबी कार्की, एनसिसी थाइल्याण्डका पूर्वयुवा संयोजक दिपेश श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत राजेन्द्र राउतलगायतको उपस्थिति थियो । रासस