Saturday, May 2

वैदेशिक रोजगारीबाट फर्किएका युवाहरूलाई धमाधम संगठित गर्दै रिटर्नी सेन्टर नेपाल

नेपालअखबार, काठमाडौँ । माओवादी केन्द्र निकट नयाँ जनवर्गीय संगठन रिटर्नी सेन्टर नेपालले प्रदेशस्तरीय सम्मेलनलाई तीव्रता दिएको छ । वैदेशिक रोजगारीबाट फर्किएका युवाहरूको सिप, क्षमता स्वदेशमा प्रयोग गरी अर्थतन्त्र विकास गर्ने उद्देश्यले गत जेठ  २६ गते यो संगठन खुलेको हो ।

उक्त सम्मेलनले देवेन्द्र साम्बाहाम्फेको नेतृत्वमा ११७ सदस्यीय अन्तरिम केन्द्रीय समिति चयन गरेको छ । जसमा एक संयोजक, सात प्रदेशबाट प्रतिनिधित्व हुने गरी सात सहसंयोजक, एक सचिव र एक कोषाध्यक्ष रहेको पदाधिकारी चयन गरेको छ ।

Advertisement

सम्मेलनले प्रथम महाधिवेशन मङ्सिरमा गर्ने प्रस्ताव गरेको थियो । तर माओवादी  केन्द्रले विशेष रूपान्तरण अभियान सञ्चालन गरेकोले फागुनमा सरको  संयोजक साम्बाहाम्फेले जानकारी दिए  । उनका अनुसार सुदूरपश्चिम र कर्णालीमा प्रदेश सम्मेलन सकिएको छ ।

कोशीको सम्मेलन बुधवार सकिँदैछ । मधेश, बागमती, गण्डकी र लुम्बिनीको सम्मेलन असोजभित्र सकिन्छ । यसको साङ्गठनिक स्वरूप केन्द्र, प्रदेश, जिल्ला, पालिका र वडा तहसम्म रहनेछ ।

रिटर्नी संगठन किन आवश्यक छ ? 

माओवादी केन्द्रको यसअघि विद्यार्थी, मजदुर, युवा, महिला लगायत १९ भन्दा बढी जनवर्गीय संगठन क्रियाशील छन् । रिटर्नी संगठन नितान्त नयाँ संगठन हो । वैदेशिक रोजगारीबाट फर्किएर आएकाहरू आ–आफ्नै हिसाबले काम गर्दै आएका थिए । उनीहरूको सिप र क्षमतालाई एकीकृत  गर्ने गरी संगठन बनेको थिएन । गतवर्ष पहिलोपटक एमालेले पार्टीको जनवर्गीय सङ्गठनको रूपमा यसलाई मान्यता दिएको थियो । एमालेकै सिको गरी माओवादी केन्द्रले पनि यसलाई संस्थागत गर्न लागिएको हो ।

माओवादी केन्द्रले भावी पुस्तालाई विदेश जान नपर्ने गरी स्वदेशमै उद्यमशीलताको विकास गरी निर्यातमुखी अर्थतन्त्रमा टेवा पुर्‍याउने उद्देश्यले रिटर्नी सेन्टर नेपाल संगठन बनाएको साम्बाहाम्फेको दाबी छ ।

वैदेशिक रोजगारीमा जानेहरूको हिजोको अवस्था र आजको अवस्था फरक भएको छ । हिजो कमाउने हातहरूको रूपमा मात्र थियो । आज विदेशमा रहेर आर्जेको ज्ञान र सीपलाई नेपालको अर्थतन्त्र विकासका लागि प्रयोग गर्ने मुल मन्त्र हामीले बनाएका छौँ’, उनले भने, ‘यी लगायत विदेशमा देखेको विकास र सुशासनको मोडल नेपालमा पनि लागु गर्ने गरी कार्यक्रम बनाएका छौ । यसको पहिलो प्राथमिकता उत्पादन हो ।’

कार्यक्रम के के छन् ? 

माओवादीको आठौँ महाधिवेशनले एक पालिका एक उत्पादनसम्बन्धी सैद्धान्तिक अवधारणा ल्याएको थियो । महाधिवेशनले तय गरेको उत्पादनसम्बन्धी मोडेललाई माओवादीले तीन महिने विशेष रूपान्तरण अभियानमा जनतामाझ लगेको छ ।

आत्मनिर्भरता बढाउने उद्देश्यका साथ पार्टीको नेतृत्वमा सञ्चालित स्थानीय सरकारहरूले कम्तीमा १/१ वटा उत्पादन र उद्यमसँग सम्बन्धित कार्यक्रम शुरु गर्ने । सङ्घीय सरकारले कृषि तथा वनमा आधारित साना उद्योग, उत्पादन र बजारीकरणको क्षेत्रमा पार्टी प्रदेश समितिको सिफारिस बमोजिम ७ वटै प्रदेशमा एक÷एक वटा आयोजना सञ्चालनको सम्भाव्यता अध्ययन गर्ने उल्लेख छ ।

पार्टीको योजनलाई आत्मसात् गर्दै यो संगठनले प्रत्येक स्थानीय निकायमा वैदेशिक रोजगारीबाट फर्केका युवाहरूको नेतृत्व र सक्रियतामा कृषि, खाद्य, पर्यटन र वनसँग सम्बन्धित कम्पनी बनाएर अगाडि बढाउने जिकिर गरेको छ । त्यसका लागि पार्टीको सहकारी विभागसँग सहकार्य गरेर अगाडि बढाउने साम्बाहाम्फेले बताए ।

यसैगरी वैदेशिक रोजगारीमा रहेका समस्याहरूलाई समाधान गर्न पहल गर्ने, म्यानपावर सिस्टम खारेज गरी खाडी मुलुकमा पनि जी टु जिमार्फत वैदेशिक रोजगारीमा पठाउन पहल गर्ने उनको भनाइ छ ।

सङ्गठनको मुख्य उद्देश्य वैदेशिक रोजगारमा अबका पुस्ता जान नपर्ने गरी नेपालमै उद्यमशीलताको विकास गर्नु रहेको छ । त्यसका लागि उत्पादन, श्रममा विशेष जोड दिँदै निर्यातमुखी अर्थतन्त्र बनाउने गरी कार्यक्रम ल्याउने साम्बाहाम्फेले बताए ।