प्रशासनसमाचार

संविधान दिवसबाट सूर्यविनायक-रत्नपार्क ‘द्रुत बस सेवा’ सञ्चालन हुने

नेपालअखबार, काठमाडौं सूर्यविनायक- रत्नपार्क ‘द्रुत बस सेवा’ ३ असोजदेखि सञ्चालन हुने भएको छ । संविधान दिवसका दिनदेखि ‘द्रुत बस सेवा’ सञ्चालन हुने भएको हो ।
सोमवार भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सडक विभागका महानिर्देशक, यातायात व्यवस्था विभागका महानिर्देशक सहितको टोलीसँग ‘द्रुत बस सेवा’ का विषयमा छलफल गर्नुभएको थियो  ।  ‘छलफलपछि ३ असोजमा ‘द्रुत बस सेवा’ सञ्चालन गर्ने निर्णय गरियो’ मन्त्री ज्वालाले बताउनु भयो  ।
‘द्रुत बस सेवा’ १ असोजदेखि सञ्चालन गर्ने यसअघि निर्णय भएको थियो । तर संविधान दिवसका दिनदेखि शुरु गर्न मन्त्री ज्वालाले निर्देशन दिनुभयो । ‘द्रुत बस सेवा’ सञ्चालनको आवश्यक तयारी लगभग अन्तिम चरणमा पुगेको विभागका महानिर्देशक सुशीलबाबु ढकालले मन्त्री ज्वालालाई जानकारी दिनुभयो  । ‘अन्य काम सवै सकिएको छ, सडकको डेडिकेटेड लाइनमा रेड मार्क गर्न मात्र बाँकी छ, त्यो  २६ भदौ देखि शुरु गर्छौ ।’
विभागले दुई खण्ड बनाएर सडकको रेड मार्ग गर्ने भएको छ । रत्नपार्कदेखि जडिबुटी, र जडिबुटीदेखि सुर्यविनायक सम्म दुई मार्ग बनाएर एकैदिन शुरु हुने भएको छ । त्यसैगरी यातायात व्यवस्था विभागले आफ्नो काम सकेको जानकारी मन्त्री ज्वालालाई दिएको छ । ‘द्रुत बस सेवा’ का लागि आवश्यक पर्ने २५ वटा बसहरु तयारी अवस्थामा राखिएको यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले बताउनु भयो  । व्यवसायीहरुसँग सहकार्य गरी उनीहरुकैबसहरु सञ्चालन गर्न लागिएको हो । करिव ३८ जना क्षमता रहेको २५ बस सञ्चालनमा आउने भएका छन् ।
विहान र बेलुकाको कार्यालय समयमा काठमाडौं उपत्यकाभित्र धेरै ट्राफिक जाम हुने भएपछि मन्त्री ज्वालाले द्रुत बस सेवाको अवधारणा ल्याउनु भएको हो ।

अहिले बिहान र साँझ कार्यालयमा ‘द्रुत बस सेवा’ सञ्चालन हुने भएको छ । बिहान ९ देखि ११ र साँझ ४ देखि ६ बजेसम्म सञ्चालन हुनेछ ।

the authoradmin