
नेपालअखबार, रौतहट। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले सञ्चालन गरेको ११०० किलोमिटर लामो समाजवादी जागरण अभियानले रोजगारी, सुशासन र समृद्धिका लागि जनतासँग निरन्तर संवाद गरिरहेको छ । जागरण अभियानको पाँचौ दिन रौतहटको चन्द्रपुरमा पत्रकार भेटघाट गरी जनतासँग साक्षात्कार गर्ने कार्यक्रम अघि बढेको नेकपा एकीकृत समाजवादीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।
पत्रकार भेटघाट कार्यक्रममा प्रमुख अतिथिका रुपमा बोल्दै अध्यक्ष माधब कुमार नेपालले देशको अर्थतन्त्रमा देखा परेको संकटको बारेमा तत्काल समाधानमुखी कदम चाल्न प्रधानमन्त्री प्रचण्डलाई दुई पटक ज्ञापनपत्र दिइसकेको तर त्यसअनुसार पहल भै नरहेको बताउनु भयो । अभियानकै सन्दर्भमा अध्यक्ष नेपालले, राम्रा क्रान्तिकारी एजेन्डा लिएर जनताको विचमा आएको, रोजगारी, सुशासन र सम्बृद्धिलाई जोड दिन र जनतालाई सङ्गठित गर्दै ११०० किलोमिटर लामो अभियानमा हिँडेको र यसका लागि सम्पूर्ण जनसमुदायलाई साथ दिन र मिडियालाईअसल अभियानलाई ब्यापक रुपमा प्रचार गरिदिन अनुरोध गर्नु भयो।
स्थानीय परिश्थिति र अहिलेको राजनैतिक वस्तुस्थितिको बारेमा बोल्दै अध्यक्ष नेपालले भन्नुभयो– दुई वटा उद्योग सथापना गरिएको, टेक्निकल ट्रेनिङ्ग सेन्टर स्थापना गरिएको, एउटा चिनि मिलले किसानलाई पैसा दिने गरेको र एउटाले चाहिँ दुःख दिएको बताउनु भयो। मिटर ब्याज पिडितको पक्षमा पार्टी दृढ भएर लागिरहेको छ । राज्य सञ्चालनमा सुधार हुन सकेको छैन । पुँजीपतिको स्वार्थमा मात्र नीति नबनोस भनेर हामीले प्रधानमन्त्रीलाई भनिरहेका छौँ।
हामी श्रमजिवि जनताको हितका लागि र समग्र देशको हितका लागि, सदन र सरकारको मोर्चामा संघर्ष गरिनैरहनेछौँ । यसका लागि पार्टी बलियो बनाउनुहोस् अनि मात्र हाम्रो आवाजलाई सबैले मान्न थाल्दछन् । हामी अहिले मोर्चा र गठबन्धनलाई छोडेर जानेवाला छैनौँ । देशमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा बैदेशिक हस्तक्षेप बढन लागेकोमा हामी गम्भीर छौँ । भारतले सिमा मिचेको छ ।बार्ताबाट समाधान निकाल्नु पर्छ । लिम्पियाधुरा र कालापानी समेटिएको नेपालको नक्सालाई भारतले मान्नु पर्दछ । हाम्रो भूमि फिर्ता हुनुपर्दछ । चिनले पनि हाम्रो नयाँ नक्सालाई मान्यता दिनुपर्दछ।
सामाजिक अपराधको बारेमा बोल्दै अध्यक्ष नेपालले अपराधीलाई आम माफी दिने कुरामा आफूहरु सहमत नभएको बताउनु भयो । हामीसँग सरकारले कुरा गरेको छैन । हामीलाई अपराधी छोड्नु अघि कुनै जानकारी पनि दिएको छैन । हामी सामाजिक सद्भाव जोगाउने पक्षमा दृढ छौ । सबै भाषा, धर्म र संस्कृतिको सम्मान गर्नुपर्दछ भन्ने हाम्रो मान्यता छ । हाम्रा यी मान्यतालाई समाजवादी जागरण अभियानले विकसित गर्ने कुरामा हामी निश्चिन्त छौँ । अभियान अहिले ग्रामिण इलाकाका जनताको दुःख पीडा बुझ्दै अघि बढिरहेको अभियानमा संलग्न नेताहरुको भनाई छ ।

