राजनीतिसमाचार

परराष्ट्रमन्त्री साउद र इजरायलका विदेशमन्त्रीबीच टेलिफोन वार्ता

नेपालअखबार, काठमाडाैं। परराष्ट्रमन्त्री एनपी साउदले इजरायलका विदेशमन्त्री एली कोहेनसँग टेलिफोन वार्ता गरेका छन्।

मंगलबार भएको टेलिफोन वार्तामा आतंकवादी समूह हमासको आक्रमणमा १० जना नेपालीका साथै इजरायली एवं अन्य देशका निर्दोष नागरिक मारिएकामा गहिरो दुःख व्यक्त गरे।

परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री साउदले नेपाल सरकार र जनताका तर्फबाट आफ्ना इजरायली समकक्षीप्रति सहानुभूति एवं ऐक्यबद्धता प्रकट गर्दै आतङ्कवादका हरेक रुपविरुद्ध नेपाल दृढताका साथ उभिएको बताए।

साथै उनले उक्त आक्रमणको निन्दा समेत गरे।

परराष्ट्रमन्त्री साउदले ज्यान गुमाएका नेपालीको शव नेपाल पठाउन आवश्यक समन्वय र सहजीकरण गर्न आग्रह गर्नाका साथै घाइते भएका चार जनाको  उपचार तथा सम्पर्कविहीन भएका एक नेपालीको अवस्था पत्ता लगाइदिन विदेशमन्त्री कोहेनसमक्ष विशेष अनुरोध गरे। इजरायली सेनाले सुरक्षित स्थानमा स्थनानान्तरण गरेका नेपालीलाई आवास, भोजन एवं सुरक्षाको प्रबन्ध गर्न पनि उहाँले कोहेनसँग आग्रह गर्नुभयो ।

आफ्नो मन्त्रालयले तेलअबिबस्थित नेपाली राजदूतावाससँगका समन्वयमा इजरायलमा रहेका नेपालीको विवरण संकलन गरिरहेको तथा घर फर्कन चाहनेहरूको पूर्ण विवरण तयार भएपछि सहजीकरणका लागि पुनः इजरायल सरकारसँग आग्रह गर्ने जानकारी मन्त्री साउदले आफ्ना समकक्षी कोहेनलाई दिए।

प्रत्युत्तरमा इजरायलका विदेशमन्त्रीले नेपाल सरकार, नेपाली जनता र मृतकका परिवारप्रति गहिरो सहानुभूति प्रकट गर्दै आतङ्कवादीका कारण आफ्नो देश कठिन अवस्थामा रहेको जानकारी मन्त्री साउदलाई दिएको मन्त्रालयले बताएको छ। रासस

the authoradmin