Tuesday, May 12

पोखरामा कार्तिक तेस्रो साता पञ्चासे अल्ट्रा रेस हुने

नेपालअखबार, पोखरा । कास्कीमा कार्तिक तेस्रो साता पञ्चासे अल्ट्रा रेस हुने भएको छ । ८० किलोमिटरको दौडमा ३ वटा इभेण्ट हुनेछ । ८० किलोमिटर, ५५ किलोमिटर र २५ किलोमिटरको छुट्टाछुट्टै प्रतिस्पर्धा हुने आयोजक पोखरा ट्रेल रेस सिरिजले जनाएको छ ।

५५ किलोमिटर दौडका विजेता महिला र पुरुष धावक थाइल्याण्डमा हुने अल्ट्रा रेसमा सहभागी हुन पाउने संस्थाका संस्थापक अध्यक्ष विकास गुरुङले जानकारी दिए । उनका अनुसार यो नवौं संस्करण हो ।

Advertisement

पोखराको सेरोफेरो पहाडको टुप्पोबाट हेर्दै दौडिने गरि रुट तय गरिएको उनले सुनाए । दौडमा अमेरिका, बेलायत, भियतनाम लगायत देशहरुका धावकले नाम दर्ता गरिसकेका गुरुङले जानकार दिए ।

माछापुच्छ्रेको ल्वाङ गाँउबाट सुरु हुने दौडमा धावकहरु लुम्रे, सिदिङ, लोक्याम्प र बादल डाँडा पुगेर फर्किने छन् । त्यसपछि अष्ट्रेलियन क्याम्प, काँडे भदौरे, पन्चासे, पुम्दीभुम्दी हुँदै पोखराको खपौदी पुगेर समापन हुनेछ ।

केही समयअघि सोही संस्थाले २५ किलोमिटरको मेथ्लाङ–सराङकोट ट्रेल रेस आयोजना गरेको थियो । पर्यटकीय चहलपहल बढाउन कार्यक्रम आयोजना गरिएको गुरुङले बताए ।