विश्वसमाचार

गजामा दैनिक ४ घन्टा आक्रमण रोक्न इसराइल तयार

नेपालअखबार, एजेन्सि। ह्वाइट हाउसले गजामा अल्पकालीन युद्धविराम गर्न इसराइल तयार रहेको बताएको छ।

हमासलक्षित आक्रमणमा हजारौं नागरिकहरूले ज्यान गुमाएपछि इसराइल गजाका निश्चित क्षेत्रमा दैनिक ४ घन्टा आक्रमण रोक्न तयार भएको हो।

इसराइली आक्रमणबाट ठूलो संख्यामा नागरिकहरू मारिएपछि विश्वभर इसराइल र अमेरिकाको विरोध हुन थालेपछि इसराइल अल्पकालीन युद्धविरामका लागि सहमत भएको हो।

गजाको उत्तरी क्षेत्रका नागरिकहरूलाई सुरक्षित स्थानतर्फ भाग्नका लागि समय दिन दैनिक ४ घन्टा आक्रमण रोक्न इसराइल सहमत भएको ह्वाइट हाउसलाई उद्धृत गर्दै द न्युयोर्क टाइम्सले उल्लेख गरेको छ।

सहमति अनुसार इसराइली डिफेन्स फोर्स (आइडिएफ)ले गजाको निश्चित क्षेत्र र  समय तोक्नेछ जहाँ उसले दैनिक चार घन्टा कुनै आक्रमण गर्नेछैन।

समय र स्थानबारे भने इसराइली डिफेन्स फोर्स (आइडिएफ)ले तीन घन्टाअगाडि नै जानकारी गराउने न्युयोर्क टाइम्सले लेखेको छ।अमेरिकाका राष्ट्रपति जो बाइडेनले केही सातादेखि प्यालेस्टाइनी नागरिकहरूको सुरक्षा र मानवअधिकारको बारेमा इसराइलसँग कुरा गरेको बताएका छन्। एक्स(ट्वीटर)मार्फत बाइडेनले इसराइलको यस कदमलाई सकारात्मक भनेका छन्।

‘यो सही कदम हो। यसले त्यहाँका नागरिकहरूलाई सुरक्षित स्थानमा जान र लडाइँबाट जोगिन मद्धत पुग्छ,’ बाइडेनले लेखेका छन्।

अक्टोबर ७ (असोज २०) मा हमासले इसराइलमा आक्रमण गर्दा त्यहाँ रहेका १० नेपाली विद्यार्थीसहित १ हजार ४०० जनाको मृत्यु भएको थियो।

त्यसको जवाफमा इसराइलले गाजामा आक्रमण गर्दै आइरहेको छ। गजामा मानवअधिकार हनन भएको भन्दै अरबी मुलुकहरूले विरोध गरेपनि इसराइलले अमेरिकाको समर्थन पाएको थियो।

अरबी मुलुकहरूले गजामा मानवअधिकारको रक्षा हुनुपर्ने माग गर्दै अमेरिका र इसराइलको विरोध गर्न थालेपछि अल्पकालीन युद्धविराम गर्न आइडिएफ तयार भएको हो।

इसराइलका प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले यसलाई युद्धविराम नभन्न आग्रह गरेका छन्। उनले हमासले बन्धक बनाएका आफ्ना नागरिकहरूलाई नछाडेसम्म आक्रमण नरोकिने बताएका छन्।

the authoradmin