Saturday, May 23

समाजवादी मोर्चा र सत्ता गठबन्धनबीच सहकार्य आवश्यक: अध्यक्ष नेपाल

नेपालअखबार, काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले वर्तमान समयमा देखिएका चुनौतीहरूको अन्त्यका लागि समाजवादी मोर्चा र सत्ता गठबन्धनबीच सहकार्य गर्न आवश्यक रहेको स्पष्ट पार्नु भएको छ।

शुक्रबार पार्टीको केन्द्रीय कार्यालयमा बागमती प्रदेश कमिटी तथा केन्द्रीय लेखापरीक्षण आयोगको संयुक्त आयोजनामा लेखा सञ्चलन तथा व्यवस्थापन सम्बन्धि पशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले उक्त कुरा बताउनु भएको हो।

Advertisement

अध्यक्ष नेपालले वर्तमान समयमा देखिएका अराजकताको अन्त्य गर्न र उत्पन्न चुनौतीहरूको सामना गर्न समाजवादी मोर्चा र सत्ता गठबन्धनबीच सहकार्य हुनुपर्नेमा जोड दिनु भएको हो।

उहाँले भन्नुभयो, ‘तागत र बलकै कुरा गर्ने हो भने हामी पनि तयार रहनुपर्छ। समाजवादी मोर्चा र सत्ता गठबन्धनबीच वर्तमान व्यवस्थामाथि उठेका चुनौतीलाई सामना गर्न एकमत हुनुपर्छ। हामीले भेला, सम्मेलन र सभाहरूको आयोजना गरेर वर्तमान समयमा देखिएका विषयका बारेमा जनतालाई जानकारी गराउनुपर्छ। आवश्यकताअनुसार भेला र सभाहरूको आयोजना गर्नुपर्छ। प्रतिकार गर्नैपर्ने अवस्था आइहाल्यो भने पनि हामीे तयार रहनुपर्छ।’

वर्तमान समयमा देखिएका चुनौतीहरूमाथि ब्रिफिङ गर्दै उहाँले भन्नुभयो,‘केही अराजक समूहले बैंकबाट लिएको ऋण तिर्नु पर्दैन भन्दै जनताहरूको भावनामाथि खेलिरहेका छन्। दुर्गा प्रसाईं नामका व्यक्तिले आक्रमक अभिव्यक्ति दिइरहेका छन्। बैंकबाट ऋण लिएका मान्छेहरूलाई ऋण तिर्नु पर्दैन भन्दै उनीहरूको भावनामाथि खेलिरहेका छन्। खास पीडित को हुन् ? कसरी पीडित बनेभन्दा पनि उनीहरूको मुद्धा उठाएको बाहानामा आफ्नो राजनीतिक अभिष्ट पूरा गर्नेमा दुर्गा प्रसाईं देखिन्छन्। म दुर्गाको पछि हिडिरहेका जनतालाई अनुरोध गर्न चाहान्छु, हामीले सत्य कुरा भूलेर भिडको पछि लाग्नु हुँदैन।’

दुर्गा प्रसाईंलाई कुनै पनि राजनीतिक दलको साथ नरहेपनि केही व्यक्तिहरूको साथ रहेको अध्यक्ष नेपालको भनाई छ। उहाँले अगाडि भन्नुभयो, ‘प्रसाईंका अभिव्यक्तिहरू अराजक छन्। उनी देशी तथा विदेशी प्रतिगामी शक्तिबाट परिचालित छन्। कमल थापा, ज्ञानेन्द्र शाही जस्ता केही व्यक्तिहरूले राजसंस्था फर्काउने नारा दिएर समाज भाड्ने काम गरिरहेका छन्। यस्ता समूहबाट हामी सचेत बन्नुपर्छ। सहिदहरूको बलिदानी र हाम्रो कठोर संघर्षबाट स्थापित गणतान्त्रिक व्यवस्थामाथि खतरा पैदा हुन थालेपछि त्यसको प्रतिकार गर्न हामी तयार रहनुपर्छ।’