समाचारसमाज

व्यापार मेलामा ग्यास दुर्घटनाबारे ‘डेमोस्ट्रेसन’

नेपालअखबार, पोखरा । पछिल्ला दिनहरूमा ग्यासबाट हुने दुर्घटना बढ्दो छ । सामान्य असावधानीका कारण पनि ठुला क्षतिहरू भइरहेका छन् । प्रहरीको तथ्यांक अनुसार पछिल्लो ३ वर्षमा देशभर १० जनाको मृत्यु ग्यास दुर्घटनाकै कारण भएको छ । ४५ जना घाइते भएका छन् । यही अवधिमा ३६ घटना भएका छन् । त्यसमध्ये ३४ वटा घटना ग्यास लिक भएको छ भने २ वटा विस्फोट भएको छ । दैनिक चलाउने ग्यासबारे धेरैलाई धेरै कुराको ज्ञान छैन ।

एलपी ग्यास महासंघका वरिष्ठ सल्लाहकार धर्मराज बर्तौला ग्यास कम्पनीसँगै सरकारले पनि सचेतनाका कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउँछन् । उनकै ग्यास कम्पनी गृहलक्ष्मीले पोखराको राष्ट्रिय औद्योगिक व्यापार मेलामा स्टल नै राखेर उपभोक्तालाई ग्यासबाट हुन सक्ने क्षति र दुर्घटनाबारे सचेतनामूलक कार्यक्रम गरिरहेको छ ।

ग्यास दुर्घटनाका कारण र जोगिने उपायबारे उपभोक्तालाई सचेत गराउन प्रदर्शन गरिएको उनले बताए । ‘खास कम्पनीको काम व्यापार गर्ने हो । तर हामी हाम्रा उपभोक्ताको जीवन प्रति पनि गम्भीर छौँ । उनीहरूको सचेतनाको जिम्मा हाम्रो हो,’ अध्यक्ष बर्तौलाले भने, ‘बजारमा ग्यास किन्दा कतिपय ग्राहकहरू ठगिनुभएको छ । गलत व्यक्तिहरूले ग्यास बेचिरहेका छन् । ती सबै विषयको जानकारी मेलामा आउने दर्शकलाई दिएका छौँ ।’ ग्यास प्रयोग गर्दा हुनसक्ने दुर्घटनाबाट बच्न कम्पनीले अन्य समयमा पनि समुदाय स्तरमा प्रदर्शन गर्दै आएको उनले सुनाए ।

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापति व्यापार मेला भनेपनि सबै स्टल व्यापारका लागि मात्रै नभएको बताउँछन् । ‘औद्योगिक व्यापार मेला हो । तर सबै स्टल व्यापारका लागि मात्रै छैनन् । गृहलक्ष्मी जस्ता कम्पनीहरुले स्टल किनेर नागरिकलाई सचेत गराएको छ ,’ उनले भने, ‘आजभोलि पैसा र समय खर्च गरेर अरूको हितमा काम गर्ने पाउन मुस्किल छ । तर हाम्रा उद्योगी व्यवसायीले त्यही गर्नुभएको छ ।’ मेलाको स्टलमा ग्यास दुर्घटना रोक्न अपनाउनुपर्ने विधि, आगो लागेपछि निभाउने उपाय लगायत सिकाइएको प्रजापतिले बताए ।

the authoradmin