समाचारसमाज

रुकुम पश्चिममा ३ हजार १६८ वटा अस्थायी आवास बनायौँ : माओवादी

नेपालअखबार, सुर्खेत ।  रुकुम पश्चिममा नेकपा (माओवादी केन्द्र)ले तीन हजार १६८ वटा अस्थायी टहरा बनाएको दाबी गरेको छ । माओवादीका जिल्ला संयोजक गोविन्द रोक्काका अनुसार पालिकाहरूबाट प्राप्त विवरण अनुसार जिल्लाभर हालसम्म सो मात्रामा आवास निर्माण भएका हुन् ।

प्राप्त विवरण अनुसार आठबिसकोट नगरपालिकामा एक हजार ३०५, सानोभेरी गाउँपालिकामा ८५४, चौरजहारी नगरपालिकामा ६०७, मुसिकोट नगरपालिकामा २४, त्रिवेणी गाउँपालिकामा ३०७, बाँफिकोट गाउँपालिकामा ७१ वटा अस्थायी आवासहरू निर्माण भएका छन् ।

सबैभन्दा बढी क्षति भएका आठबिसकोट, सानोभेरी र चौरजहारी नगरपालिका हुन् । यहाँ माओवादीका उपमहासचिव जनार्दन शर्माको नेतृत्वमा सिङ्गो जिल्ला पार्टी नै भोलेन्टियरको रूपमा खटिएको छ । शर्माले ३ हजार बढी भोलेन्टियरको कमान्ड गरी आफैँ पनि आवास निर्माणमा खटिएका छन् । अहिले त्यहाँ अन्तबाट पनि नेता, कार्यकर्ताहरू खटिएका छन् भने अन्य राजनीतिक दलहरूले पनि अस्थायी आवास निर्माणको काम गरिरहेका छन् ।

मङ्सिर महिनाभित्रै नागरिकलाई त्रिपालमुक्त गराइने भनिए पनि त्यो मुस्किल पर्ने देखिन्छ । रुकुम पश्चिममा प्रारम्भिक तथ्याङ्क अनुसार ३२ हजार ८०७ घरहरूमा क्षति पुगेको छ । अहिलेसम्म २५ हजार बराबरको प्रहरी मुचुल्का बनिसकेको छ भने अझै लगत सङ्कलनको काम बाँकी नै रहेको छ ।

रुकुम प्रशासनका अनुसार अहिलेसम्म १९ हजार बढी परिवारलाई अस्थायी आवासका लागि पहिलो किस्ता रकम पठाइसकिएको छ ।

the authoradmin