Thursday, July 30

१४१ सांसदलाई निलम्बन गरेपछि भारतमा तरंग

नेपालअखबार, एजेन्सि। भारतमा विपक्षी दलका सांसदहरूलाई धमाधम निलम्बन गरेपछि तरंग उत्पन्न भएको छ।

Advertisement

हिउँदे अधिवेशन चलिरहँदा मंगलबार लोकसभाका विपक्षी दलका थप ४९ सांसदलाई निलम्बन गरेको भारतीय सञ्चारमाध्यम द स्क्रोलले जनाएको छ।

Advertisement
Advertisement

संसदको सुरक्षा उल्लंघन गरेको विषयमा छलफल गर्न माग गरेपछि सभामुखले उनीहरूलाई निलम्बन गरेका हुन्।

Advertisement

भारतीय कांग्रेस आइका नेता शशी थरूर, समाजवादी पार्टीकी नेता दिम्बल यादव, राष्ट्रवादी कांग्रेस पार्टीकी सुप्रिया सुले र नेशनल कन्फ्रनेसका नेता फारूक अब्दुल्लाह लगायत निलम्बनमा परेका छन्।

निलम्बित सांसद अब्दुल्लाहले पत्रकारहरूसँग कुराकानी गर्दै संसदमा प्रतिपक्षी रहेसम्म प्रश्न गर्न नछोड्‍ने बताए। संसदको सुरक्षा उल्लंघन भएको विषयमा गृहमन्त्री अमित शाह आएर पाँच मिनेट जवाफ दिँदा केही फरक नपर्ने उनको भनाइ थियो।

‘मलाई भन्नुस् प्रहरी कोसँग छ? गृह मन्त्रालय अन्तर्गत पर्छ? गृहमन्त्री पाँच मिनेट मात्रै सदनमा आएर सुरक्षा उल्लंघन भएको विषयमा जाँच भइरहेको छ भन्दा के हुन्छ?,’ उनले भने, ‘जबसम्म सदनमा विपक्षी नेताहरू रहन्छन् हाम्रो माग जारी रहन्छ।’

योसँगै एक सातामा निलम्बनमा पर्ने सांसदको संख्या एक सय ४१ पुगेको छ। गत डिसेम्बर १४ यता ९६ जना लोक सभा सांसद र ४६ राज्य सभा सांसद निलम्बनमा परेका छन्।

यो निलम्बनलाई भारतको संसदीय इतिहासमा सबैभन्दा ठूलो निलम्बनको रूपमा वर्णन गरिएको छ।

गत डिसेम्बर १३ मा दुई जना युवाले भिजिटर्स ग्यालरीबाट लोक सभा प्रवेश गरी संघीय सरकारविरूद्ध नाराबाजी गर्दै रङ फ्याँकेपछि सुरक्षा उल्लंघनको विषय उठाउँदै संसद पटक-पटक स्थगन भएपछि सांसदहरूलाई निलम्बन गरिएको थियो। प्रतिपक्षले गृहमन्त्री शाहले यसबारे संसदमा जवाफ दिनुपर्ने माग राख्दै आएका छन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सुरक्षा उल्लंघनको घटना ‘अत्यन्त गम्भीर’ भएको बताएका छन्।

निलम्बित विपक्षी सांसदहरूले निलम्बन फुकुवा गर्न र संघीय गृहमन्त्री अमित शाहले गत साता संसद सुरक्षा उल्लंघनको घटनालाई लिएर वक्तव्य जारी गर्नुपर्ने माग गरेका छन्।