खेलकुदसमाचार

प्रदेश खेलकुद परिषद गण्डकीकाे बैठक सम्पन्न

Nepal Akhabar

नेपालअखबार, पोखरा । प्रदेश खेलकुद परिषद गण्डकी द्वारा कर्मचारीहरु संगको बैठक सम्पन्न गरेको छ । साविक पश्चिमाञ्चल क्षेत्रिय खेलकुदका कर्मचारी तथा प्रदेशका ११ वटै जिल्लामा कार्यरत जिल्ला खेलकुदका कार्यालय प्रमुखहरुको सम्पन्न संयुक्त बैठकले एक जुट भएर अघि बढ्ने गरि तय भएको परिषदले जनाएको छ ।

बैठक बारे जानकारी गराउँदै परिषदका सदस्य सचिव श्रीधर शर्माले निकै सोहार्दपूर्ण रुपमा सम्पन्न भएको बैठकले साविक क्षेत्रिय खेलकुदमा कार्यरत कर्मचारीहरु समेत मंगलबारको निर्णय अनुसार अघि बढ्ने गरि तय भएको जनाएका छन् । राष्ट्रिय खेलकुद परिषद अन्तर्गत कार्यरत कर्मचारीलाई प्रदेश खेलकुदका विभिन्न विभाग अन्तर्गत रहि कार्य गर्ने गरी बैठकले तय गरेको जनाउँदै विगतमा देखिएका समस्याहरु संगै बसेर छलफलका आधारमा टुङ्गयाउने निर्णय समेत भएको उनले जनाए ।

“आजको बैठकले राम्रो सन्देश दिएको छ”–सदस्य सचिव शर्माले भने–“राखेप अन्तर्गत क्षेत्रिय खेलकुदमा कार्यरत ६ जना कर्मचारीहरु अब देखि प्रदेश खेलकुदमा रहेर हामीलाई सहयोग गर्नुहुनेछ ।” राखेपले कर्मचारीहरुको समस्या समधान गर्न ओएनएमको कार्यदल समेत गठन गरेर अघि बढीसकेको जनाउँदै सदस्य सचिव शर्माले ओएनएमको प्रक्रियागत रुपमा नसकिए सम्म कर्मचारीहरु प्रदेश अन्तर्गत रहेको विभिन्न विभाग सम्हाल्ने बताए ।

सम्पन्न बैठकमा सािवक क्षेत्रिय खेलकुदमा कार्यरत डिवी नेपालीले ओएनएमले गति नलिंदा कर्मचारीहरुको समस्या वल्झिएको बताउँदै प्रदेश खेलकुद संग मिलेर आफूहरुले कार्य गर्न कुनै समस्या नभएको बताए । उनले भने–“हामीले लामो समय देखि खेलकुद विकासका लागि योगदान दिएका छौं । हामी ओएनएम छिटो पारित भएमा सबैका लागि सहज हुने छ । तर पनि हालको अवस्थामा हामी प्रदेश खेलकुद अन्तर्गत रहेर कार्य गर्न कुनै द्विविधा छैन ।”

त्यसै गरी साविक क्षेत्रिय खेलकुदका प्रशिक्षण विभाग प्रमुख बलराम लामाले क्षेत्रिय खेलकुदको खारेजी संगै प्रक्रियागत रुपमा कार्य गर्न समस्या भएको जनाउँदै कर्मचारीहरुको समस्या फुकाउन राखेप र परिषदले छिटो पहल गर्नुपर्ने औंल्याए ।

सम्पन्न बैठकले कर्मचारीहरुको हाजिर साविककै कार्यालयमा रहे पनि त्यसको प्रमाणिकरण भने प्रदेश खेलकुद परिषदले गर्ने भएको छ । साविक क्षेत्रिय खेलकुदका प्रमुख लक्ष्मण प्रसाद योगीलाई प्रशासन तथा समन्वय शाखा, बलराम लामालाई प्रशिक्षण शाखा, ई.अनिल अधिकारीलाई योजना शाखा, डम्वर बहादुर नेपाली (डिवी)लाई प्रशासन, मायाँ गुरुङलाई प्रशासन र प्रशिक्षण शाखा र भोज कुंवरलाई प्रशिक्षण तथा प्रशासन शाखाको जिम्मेवारीमा रहने गरि निर्णय भएको परिषदले जनाएको छ ।

सम्पन्न बैठकमा प्रदेश खेलकुदका कार्यालय प्रमुख तोपलाल भुसाल, लेखा प्रमुख निलकण्ठ ढकाललगायतको सहभागिता रहेको थियो ।

बैठकमा आसन्न राष्ट्रपति खेलकुद प्रतियोगिता लगायत कार्यालयहरुको व्यवस्थापन, ऐनको कार्यान्वयन, कार्यालय सञ्चालन र व्यवस्थापन, खेल मैदानहरुको व्यवस्थापन तथा संरक्षण, खेलकुद गतिविधी, खेलाडी उत्पादन, जिल्लामा रहेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीको नामावली संकलनकार्य लगायतका विषयमा छलफल भएको परिषदले जनाएको छ ।

the authoradmin