खेलकुदसमाचार

सरकारले लगानी गरेका खेल पूर्वाधारहरु बालुवामा पानी जस्तै भएको छ–मन्त्री लिम्बु

Nepal Akhabar

नेपालअखबार, पोखरा । नेपाल सरकारका यूवा तथा खेलकुद मन्त्री डिग बहादुर लिम्वुले खेलकुद क्षेत्रमा सरकारको लगानीमा रहेका धेरै पूर्वाधारहरु अधुरो रहेको जनाएका छन् ।

कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरामा मंगलबारबाट सुरु भएको “२० औं माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता २०८०” को उद्घाटनको क्रममा सो कुरा बताएका हुन् । उनले भने–“म अहिले ४० जिल्लाको भ्रमणबाट फर्किएको छु । ति जिल्लाका खेल पूर्वाधारहरु निर्माण सम्पन्न नहुँदा खण्डहर बन्दै गएका छन् । सरकारको लगानी बालुवामा पानी जस्तै भएको छ । यो चिन्ताजनक विषय हो ।” सरकारले खेल पूर्वाधारहरुको निर्माणका लागि संघिय, स्थानिय, प्रदेश सरकार र निजी क्षेत्रको सहभागितामा प्रतिफल दिने गरी काम अघि बढाउने गरि आफूले समन्वय गरिरहेको बताए ।

संघिय सरकारले मात्रै देशभर रहेका खेल पूर्वाधारहरुको संरक्षण गर्न नसक्ने जनाउँदै मन्त्री लिम्वुले संघिय, प्रदेश र स्थानिय सरकारले कुन र कस्ता पूर्वाधारहरु कुन–कुन हुन सक्छन् , कुन तहले कुन खेल मैदानको जिम्मेवारी लिने त्यसको पहिचान गर्न राष्ट्रिय खेलकुद परिषदलाई अध्ययनका लागि निर्देशन दिएको उनले बताए । उनले भने–“सबैले जिम्मेवारीपूर्वक जवाफदेही ढङ्गबाट सुझाव दिन र प्रयाप्त मात्रामा खेल प्रशिक्षणस्थलहरुको निर्माण गरी तिनै तहको सरकारका विच समन्वय गर्ने गरि मन्त्रालय योजनावद्ध रुपमा अघि बढेको छ ।”

खेलाडीले भोगेका कठिनाईहरुलाई कम गर्दै लैजाने विषयमा समेत मन्त्रालयले गृहकार्य गरिरहेको जनाउँदै मन्त्री लिम्वुले भने–“अव जति खेलाडीहरुले समस्या भोग्नु भएको छ यहाँहरुले पाउनु पर्ने सेवा सुविधाका बारेमा नितिगत सुधार गर्दै सहजरुपमा सेवा सुविधा र पुरस्कारका रकम प्राप्त गर्न वातावरण बनिसेकेको छ । अव यहाँहरु उच्च मनोबलका साथ खेल्न आग्रह गर्छु ।” खेलाडीहरुले खेलको माध्यमबाट संसारलाई जित्न सक्छौं भन्ने सन्देश दिइसकेको जनाउँदै त्यसका लागि खेलाडीहरुलाई प्रयाप्त सुविधा र अवसरहरुको खोजीका लागि मन्त्रालय प्रयत्नशिल रहेको उनको भनाई थियो ।

पोखरा पर्यटन क्षेत्र पनि भएकोले पनि अन्तर्राष्ट्रिय संगको सम्वन्ध बलियो रहेको जनाउँदै निजी क्षेत्रले खेलकुद क्षेत्रमा गरेको स¥हानिय रहेको बताए । उनले भने–“सरकार एक्लैले मात्र लगानी गर्न सक्दैन यसमा निजी क्षेत्रको सहभागिता उत्तिकै महत्वपूर्ण छ ।” जनस्तरबाट भएको लागनी भएको क्षेत्रमा समेत सरकारको समेत सहयोग आवश्यक रहेको जनाउँदै कास्की टेनिस विकासका लागि समेत सरकारले सहयोग गर्ने प्रतिवद्धता जनाए । उनले भने–“हामी सबै मिल्यौं भने सबै कुरा सहजताका साथ समाधान हुन्छन”, उनले भने–“म यहि कुरा यहाँहरु समक्ष राख्दै समग्र खेलकुद विकासका लागि जुट्न म आग्रह गर्न चाहन्छु ।”

उद्घाटन कार्यक्रममा आफ्ना भनाई राख्दै गण्डकी प्रदेशका सांसद प्रकाश बरालले कास्की टेनिसको सुनौलो इतिहासको जति प्रशंसा गरे पनि कम नहुने बताए । उनले कास्की टेनिसलाई सरकारले समेत उच्च प्राथमिकतामा राखी सम्मान गर्नु पर्ने जनाउँदै कास्की टेनिस नेपालको प्रमुख केन्द्रको रुपमा स्थापित रहेको जनाए । इतिहास बोकेको कास्की टेनिसले कार्यक्रम गर्दा होस वा पूर्वाधारको संरक्षणका लागि हात फैलाएर माग्ने अवस्थाबाट मुक्त गर्न सरकारको समेत सहकार्य आवश्यक रहने कुरामा उनले जोड दिए ।

कास्की टेनिस संघका अध्यक्ष लोक बहादुर गुरुङको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रतियोगिताका संयोजक नविन चालिसेले कास्की टेनिसले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन र टेनिस खेलको विकासमा उत्तिकै महत्वपूर्ण योगदान भइरहँदा समेत राज्यको ध्यान यस तर्फ नपुग्दा समस्या आएको उल्लेख गरे । उनले भने–“निजी क्षेत्रले कास्की टेनिसमा उल्लेख्य लगानी गरेको छ । त्यो राज्यका तर्फबाट हुन सकेको छैन । यसमा सहकार्यका लागि म आग्रह गर्दछु ।”

सो अबसरमा गोरखा नेप्लिज टेनिस क्लब युकेका अध्यक्ष हर्कबहादुर गुरुङ, कास्की टेनिसका सचिव नविन श्रेष्ठले समेत आफ्ना भनाई राखेका थिए ।

यहि पौष १० गतेबाट १५ गते सम्म पोखरा रंगशालाको टेनिस कोर्टमा सञ्चालन हुने प्रतियोगितामा महिला तर्फ १३ र पुरुषतर्फ २०३ गरी २१६ जना खेलाडीहरुको सहभागिता रहेको छ ।

प्रतियोगितामा भारत, यूके र बंगालादेशका खेलाडी समेतको सहभागिता रहने उपाध्यक्ष चालिसेले जानकारी दिए । उनले भने–“यो माछापुच्छ्रे टेनिस खेलको इतिहासमा नै सर्वाधिक सहभागिता हो । यसले खेलकुदमार्फत पोखराको पर्यटन प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएका छौं ।”

प्रतियोगिता अन्तर्गत मेन्स तथा उमेन्सका सिंगल्स र डबल्स तथा ३५, ४५, ५५, ६५ वर्ष माथी गरी विभिन्न उमेर सुमहमा १२ इभेन्टमा प्रतिस्पर्धा हुने भएको छ ।

प्रतियोगितामा ओपन मेन्स तथा उमेन्स सिंगल्सतर्फका बिजेताले जनही नगद ८० हजार र उपविजेताले नगद ४० हजारका साथमा मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसै गरी सेमीफाइनालिष्टले नगद १० हजार सहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने आयोजक कास्की टेनिसले जनाएको छ ।

प्रतियोगितामा मेन्स तथा उमेन्स डबल्सतर्फ बिजेताले नगद ३० हजार, उपविजेताले १५ हजारसहित ट्रफी र सेमीफाइनालिष्टले नगद १० हजार नगदसहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । ३५ वर्ष माथी भेट्रान्स सिंगल्सतर्फको बिजेताले नगद ६० हजार, उपविजेताले ३० हजार सहित ट्रफी तथा मेडल प्राप्त गर्नेछन् भने सेमीफाइनालिष्टले नगद १० हजार सहित पदक प्राप्त गर्ने र डबल्सतर्फ विजेताले नगद २० हजार, उपविजेताले नगद १० हजार सहित ट्रफी संगै सेमीफाइनालिष्टले नगद १० हजार सहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

४५ वर्ष भन्दा माथीको सिंगल्स विजेताले नगद ४० हजार, उपविजेताले २० हजार र सेमीफाइनालिष्ट नगद १० हजारका साथमा ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने छ । त्यस्तै सोही स्पर्धाको डबल्सतर्फ विजेताले नगद २० हजार, उपविजेताले नगद १० हजार तथा सेमीफाइनालिष्टले नगद १० हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

प्रतियोगिता अन्तर्गत नै हुने ५५ वर्ष माथीको सिंगल्सतर्फको विजेताले नगद ३० हजार, उपविजेताले १५ हजार, सेमीफाइनालिष्टले जनही नगद १० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । त्यस्तै डबल्सतर्फको बिजेताले २० हजार, उपविजेताले नगद १० हजार र सेमीफाइनालिष्टले जनही नगद १० हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतियोगितामा ६५ वर्ष माथीको सिंगल्सतर्फ बिजेताले नगद १५ हजार, उपविजेताले नगद ७ हजार ५ सय तथा सेमीफाइनालिष्टले जनही नगद २ हजार ५ सयसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

“२० औं माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता २०८०” सम्पन्न गर्न करिव १९ लाख खर्च र २१ लाख आम्दानी हुने कास्की टेनिस संघका कोषाध्यक्ष अनुज बास्तोलाले जानकारी दिएका छन् । प्रतियोगितामा पुरस्कार राशीमा मात्रै करिव नगद रु ८ लाख खर्च हुने उनको भनाई छ । उनले यो प्रतियोगिताबाट करिव २ लाख बचत हुने जानकारी दिए ।

टुर्नामेन्ट डाइरेक्टर राजन पौडेलका अनुसार प्रतियोगिता नेपालका नं १ देखि ८ नं सम्मका र्‍याकिङ खेलाडीहरु मैदानमा उत्रिने छन् । नेपालका नं १ पुरुष तर्फ पोखराका प्रदिप खड्का र नं १ महिला खेलाडी अभिलाषा विष्टले सहभागिता जनाउने उनले जनाए । प्रतियोगितामा पहिलो चरणका खेलहरु सुरु भएका छन् ।

the authoradmin