कृषिसमाचारसमाज

नेपालमा मासु तथा अन्डा खपत न्यून

Nepal Akhabar

नेपालअखबार, काठमाडाैं। ‘कुखुराको अन्डा र मासुको परिकार, स्वस्थ जीवनको आधार’ मूल नाराका साथ मङ्गलबार ११ औँ राष्ट्रिय पोल्ट्री दिवस मनाइरहेका बेला किसान तथा उद्योगीले उत्पादन गरेका अन्डा र कुखुराको मासुको बिक्रि नभएको भन्दै चिन्ता जनाएका छन् ।

कृषि  तथा  पशुपन्छी  विकास  मन्त्रालयका  अनुसार नेपालमा वार्षिक एक अर्ब ६० करोड वटा अन्डा र दुई लाख ५० हजार मेट्रिक टन कुखुराको मासु उत्पादन हुँदै आएको छ तर त्यस अनुसार खपत नभएको गुनासो पोल्ट्री उद्योगीको छ । नेपाल कुखुरा व्यवसायी मञ्चका अनुसार विकसित देशको तुलनामा नेपालमा अन्डा र मासुको खपत निकै कम रहेको जनाएको छ ।

दक्षिण एसियाका केही देशले सरदर एक जनाले वार्षिक १८० वटा अन्डा उपभोग गर्छन् तर नेपालमा एक व्यक्ति वार्षिक ६१ वटामा मात्र सीमित रहेका छन् । बङ्गलादेशमा एक जनाले वार्षिक ८० वटा, भारतमा ७९ र पाकिस्तानमा ७२ वटा अन्डा खपत गर्ने गरेका छन् । त्यस्तै अन्य विकसित देशमा त वार्षिक एक जना व्यक्तिले चार सयभन्दा बढी अन्डा खपत गरेको तथ्याङ्कमा देखिएको छ ।

चीनमा ४३३, जापानमा ३९७, अमेरिकामा ३२२ वटा अन्डा खपत गर्ने गरेको छ जसको तुलनामा नेपाल निकै पछाडि रहेको छ ।कुखुराको  मासु  नेपालमा  प्रतिव्यक्ति  वार्षिक  ७.५७  किलो  मात्र  खपत  हुने  गरेको  मन्त्रालयको  तथ्याङ्कमा  उल्लेख  छ  जबकि  विकसित  देशमा  वार्षिक सरदर प्रतिव्यक्ति ७४.७ किलोसम्म खपत हुने गरेको छ । इजरायल  जस्तो  देशमा  प्रतिव्यक्ति  ६८.९  किलो  मासु  खपत  गर्ने  गरेको  छ  भने  अमेरिकामा  एक जना व्यक्तिले ५८.७ किलो मासु खपत गर्ने गरेको छ ।

पोल्ट्रीले देशको कुल गार्हस्थ उत्पादनको ३.५ प्रतिशत योगदान दिएको छ । कृषि मन्त्रालयका अनुसार  पाँच  लाख  जनाले  यो  क्षेत्रमा  रोजगारी  पाएका छन् भने यो क्षेत्रमा एक खर्ब ६० अर्ब लगानी भएको देखिन्छ ।  यो समाचार गोरखापत्र दैनिकमा छ ।

the authoradmin