Thursday, July 30

ताँजकोट गाउँपालिकामा ‘फोरजी’ सेवा सञ्चालन

नेपालअखबार, सिमकोट । हुम्लाको दक्षिणी भेगमा रहेको ताँजकोट गाउँपालिकामा नेपाल दूरसञ्चार प्रणालीको ‘फोरजी’ सेवा सञ्चालनमा आएको छ । वर्षौंदेखि टेलिफोन तथा इन्टरनेटको समस्या झेलिरहेको ताँजकोट गाउँपालिकाको दुर्गम गाउँमा फोरजी सेवा सञ्चालनमा आएको हो ।

Advertisement

मङ्गलबारदेखि ताँजकोट गाउँपालिकामा ‘फोरजी’ सेवा सञ्चालनमा आएसँगै आसपासका सबै गाउँका साथै यहाँका स्थानीय उत्साहित भएका छन् । गाउँमै फोरजी सेवासहितको इन्टरनेट र टेलिफोन सञ्चालनमा आएपछि स्थानीयले राहत महसुस गर्नुका साथै स्थानीय तहको दैनिक कार्यसम्पादनमा समेत सहज भएको ताँजकोट गाउँपालिकाका अध्यक्ष लालकेश जैसीले बताए ।

Advertisement
Advertisement

“इन्टरनेट सेवा नहुँदा गाउँपालिकाका नागरिकलाई निकै समस्या बनाएको थियो,” अध्यक्ष जैसीले भने, “फोरजी सेवा विस्तारले गाउँमा विद्युतीय माध्यमबाट शिक्षा, स्वास्थ्य, सामाजिक सेवा र मनोरञ्जन, सूचना आदानप्रदानको कामसमेत सहज हुनेछ ।”

Advertisement

गाउँपालिकाभित्र रहेका नागरिकलाई सूचना प्रवाहमा सहज हुनुका साथै अन्य सूचनासमेत थाहा पाउनका लागि मात्रै नभई देश तथा विदेशका समसामयिक घटनाबारे ताँजकोटवासी अब इन्टरनेटका माध्यमबाट घरमै बसेर जानकारी पाउने भएका छन् । ताँजकोटका पाँचवटै वडा कार्यालयमा फोरजीसहितको इन्टरनेट सेवा सञ्चालन गर्ने तयारी रहेको अध्यक्ष जैसीले बताए ।

जनताका कामलाई छिटोछरितो सेवा प्रवाह गर्न सहज हुने भएकाले ताँजकोट गाउँपालिका इन्टरनेट सेवा विस्तार भएपछि जुनसुकै तालिम, गोष्ठी, अनलाइन फारम भर्न र अनलाइनबाट हुने सबै काम सहज हुने विश्वास लिइएको छ । यसअघि ताँजकोट क्षेत्रमा घाम लागेपछि मात्रै टेलिफोनले काम गर्ने अवस्था थियो । ताँजकोट गाउँपालिकाको पहलमा ताँजकोटका गाउँगाउँमा फोरजी सेवा विस्तार भएको ताँजकोट गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र स्याङकुले बताउनुभयो । टावरमा सोलार पावर जडान गरेकाले विगतको जस्तो घाम नलागेसम्म टेलिफोन इन्टरनेट नआउने समस्या अन्त्य भएको छ । रासस