समाचारसमाज

राष्ट्रिय सम्मेलनले विश्वकर्माको अध्यक्षतामा १७ सदस्यीय चयन

नेपालअखबार, काठमाडाैं । नेपालको सबैभन्दा पूरानोमध्येको एक मानव अधिकारवादी संस्था मानव अधिकार संरक्षण मञ्चको अध्यक्ष गणेश विश्वकर्मा निर्वाचित हुनुभएको छ । मञ्चको शनिबार पोखरामा सम्पन्न चौँथो साधारण सभा तथा आठौँ राष्ट्रिय सम्मेलनले विश्वकर्माको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा सावित्री श्रेष्ठ, महासचिवमा श्रीकान्त खतिवडा, सचिवमा धनन्जय खनाल र कोषाध्यक्षमा विना खड्का चयन हुनुभएको छ । त्यस्तै, सदस्यहरूमा कृष्ण न्यौपाने, दुर्गा कोइराला, हरिप्रसाद शर्मा, सुरेन्द्र थापामगर, निर्मला महत, डिल्लीराज जोशी, गीता कोइराला, भगवान भण्डारी, कमलप्रसाद अर्याल, यमबहादुर विक, राजु पासवान र लेखनाथ सिकारु निर्वाचित हुनुभएको छ ।

अधिवेशनले कमलप्रसाद अर्यालको संयोजकत्वमा १७ सदस्यीय गण्डकी प्रदेश कार्यसमिति समेत चयन गरेको छ । सम्मेलनले संक्रमणकालीन न्याय र मानव अधिकार सम्बन्धी विशेष प्रस्ताव पारित गरेको नवनिर्वाचित अध्यक्ष विश्वकर्माले जानकारी दिनुभयो । सम्मेलनका अवसरमा संक्रमणकालीन न्याय र मानव अधिकार विषयक अन्तरक्रियासमेत गरिएको थियो ।

सम्मेलनमा मञ्चका संस्थापक सदस्य तथा मानव अधिकार आयोगका पूर्व सदस्य सुशील प्याकुरेलले संक्रमणकालीन न्यायको व्यवस्थापन नेपालको यथार्थ धरातलमा आधारित हुनुपर्ने बताउनुभयो । ‘२० औं वर्ष द्वन्द्वको व्यवस्थापन भइसकेको भन्ने अन्य केही मुलुकको अनुभवलाई हेर्दा पनि द्वन्द्व स्थायी समाधान भएको देखिदैन,’ उहाँले भन्नुभयो, ‘यसलाई व्यवहारमा नै स्थायीरुपमा समाधान गर्न त्यति सजिलो छैन ।

संक्रमणकालिन न्यायको व्यवस्थापन नेपालको यथार्य धरातलका आधारमा पीडितमैत्री हुनुपर्छ ।’ नागरिक अगुवा एवम् वरिष्ठ पत्रकार कनकमणि दिक्षितले नागरिक समाज र सञ्चारकर्मीले संक्रमणकालीन न्यायलाई पीडितको पक्षमा हुने गरी आवाज उठान गर्नु आवश्यक रहेको बताउनुभयो ।

त्यस्तै, एडभोकेसी फोरम नेपालका अध्यक्ष तथा वरिष्ठ अधिवक्ता हरीप्रसाद सुवेदीले पीडितकोे सहमति र अनुमति बेगर पीडितको हकहित विपरीत शान्ति प्रक्रिया टुंगोमा पुर्याए त्यो मान्य नहुने बताउनुभयो ।

the authoradmin