Monday, May 4

सत्तारुढ दलभित्रै सहकार्य गरेर आफ्नो पार्टीलाई कमजोर बनाउने एमालेको प्रयास असफल : अध्यक्ष नेपाल

नेपालअखबार, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय सभा निर्वाचनमा सत्तारुढ गठबन्धनमा फाटो ल्याउने एमालेको योजना असफल पारेको बताएका छन् ।

सत्तारुढ दलभित्रै सहकार्य गरेर आफ्नो पार्टीलाई कमजोर बनाउने एमालेको प्रयासलाई आफूहरुले असफल बनाएपछि राष्ट्रिय सभा निर्वाचनमा पनि एमाले असफल भएको उनको भनाइ छ । आइतबार काठमाडौंमा सुरु भएको पार्टीको केन्द्रीय परिषद्को दोस्रो बैठकमा उनले भने ।

Advertisement

‘नेकपा एमालेले गठबन्धनमा रहेका दलहरुसँग सहकार्य गर्ने र गठबन्धनलाई कमजोर बनाउने नीति लिएको थियो । राष्ट्रिय सभाको निर्वाचनमा गठबन्धनसँग सहकार्यका लागि एमालेले वार्ता, छलफल र संवाद गर्‍यो पनि । वास्तवमा यो सबै भनेको हाम्रो पार्टीको विरुद्धमा नै लक्षित थियो । यस अर्थमा पनि त्यो सहमति सफल हुन सकेन । सत्तारुढ दलहरु एकजुट भएर उभिइसकेपछि नेकपा एमालेको हामीलाई कमजोर बनाउने प्रयत्न असफल भयो’ उनले भने ।

राष्ट्रियसभा निर्वाचनमा कोशी प्रदेशमा माओवादी केन्द्रका उम्मेदवार पराजित भएको विषयमा भने गठबन्धनभित्र छलफल हुने नेता नेपालले बताए ।‘भोट क्रसिङको विषयले गठबन्धनका दलहरु मात्रै होइन हरेक दलभित्र यो छलफलको विषय बन्न पुगेको छ । यस पटकको राष्ट्रियसभाको निर्वाचनको परिणामले राष्ट्रियसभाको राजनीतिक शक्ति सन्तुलनमा हेरफेर ल्याएको छ’ उनले भने ।