राजनीतिसमाचार

नेकपा (एकीकृत समाजवादी) ले उमेर हद हटायो

नेपालअखबार, काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) ले पार्टी नेताहरूको उमेर हद नराख्ने भएको छ।

सोमबार सम्पन्न पार्टीको दोस्रो केन्द्रीय परिषद् बैठकले उक्त निर्णय गरेको हो। त्यस्तै परिषद् बैठकले सबै पार्टी कमिटीका पदाधिकारी तथा सदस्यहरू प्रत्यक्ष निर्वाचित हुने विधानमा व्यवस्था गरेको छ।

दोस्रो केन्द्रीय परिषद् बैठकका निर्णय सुनाउँदै उपाध्यक्ष डा.बेदुराम भुसालले सबै कमिटीका पदाधिकारी तथा सदस्यहरू महाधिवेशन वा सम्बन्धित तहका अधिवेशनहरूबाट प्रत्यक्ष निर्वाचित हुने जानकारी दिनुभयो।

केन्द्रीय कमिटी १९९ जना हुनेछ। केन्द्रीय परिषद्को बैठकमा उपाध्यक्ष भुसालले केन्द्रीय कमिटीको पदाधिकारीको संख्या १९ हुने जानकारी दिनुभयो। त्यस्तै प्रदेश कमिटीको सङ्ख्या ७५ देखि ९९ सम्म हुने र प्रदेश कमिटीको पदाधिकारीको सङ्ख्या ७ हुने विधानमा व्यवस्था गरेको छ।

प्रदेश पदाधिकारीमा अध्यक्ष, उपाध्यक्ष, सचिव र तीन उपसचिव हुने व्यवस्था गरेको सो पार्टीले जिल्ला कमिटी ५५ सदस्यीय बनाउने भएको छ। तर, एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लामा ३ महिला थपिने छन्। त्यस्तै जिल्ला कमिटीका पदाधिकारीको सङ्ख्या पनि सात नै रहने भएको छ। जुन हाल पनि कायम छ।

त्यस्तै पालिका कमिटीको सङ्ख्या ४५ बनाउने परिषद् बैठकले पारित गरेको छ। तर ५ भन्दा बढी वडा भएका पालिकामा प्रत्येक वडाबाट २ जना थप्ने निर्णय पारित भएको छ। परिषद्ले गरेका निर्णयलाई हलले ताली बजाएर अनुमोदन गरेको थियो।

the authoradmin