Tuesday, November 4

ज्ञानेन्द्र शाहलाई चुनाव जितेर प्रधानमन्त्री बन्न सुझाव : अध्यक्ष नेपाल

नेपालअखबार, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देश राम्रोसँग नचलेको भए राम्रो प्रधानमन्त्रीको रुपमा देशलाई विकल्प दिन पूर्वराजा ज्ञानेन्द्र शाहलाई सुझाव दिएका छन् । शनिवार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो सुझाव दिएका हुन् ।

Advertisement

उनले राज्य शासन प्रणाली ठिक ढंगले चलेको छैन भने र मुलुक राम्ररी चलाउन सकेनन् भन्ने लागेको भए नेता भइ चुनाव जितेर प्रधानमन्त्री बन्दै देशको नेतृत्व गर्न पूर्वराजा शाहलाई  सुझाव दिए । उनले राष्ट्रपति बन्नका लागि मानिसहरुको अभाव नरहेको जिकिर गरे । नेपालले देशको काम प्रधानमन्त्रीले गर्ने भएकाले प्रधानमन्त्रीसँगको विवाद हो भने प्रधानमन्त्री बन्न देशमा चुनाव लड्न सुझाव दिए ।  ‘यहाँ राजतन्त्रको बारेमा कुरा उठाउनु भनेको असान्दर्भिक हो । यदि राज्य शासन प्रणाली ठिक ढंगले चलेको छैन भने, मुलुक राम्ररी चलाउन सकेका छैनन् भने नेता भएर आए हुन्छ । जनताको बीचमा चुनाव जितेर आए हुन्छ । राम्रो प्रधानमन्त्रीको रुपमा देशलाई विकल्प दिए हुन्छ’ नेपालले भने, ‘अहिले राष्ट्रपति हुने मान्छेको अभाव भएर होइन । काम गर्ने भनेको प्रधानमन्त्रीले हो, प्रधानमन्त्रीसँगको यदी विवाद हो भने प्रधानमन्त्री बन्न तपाई चाहनुहुन्छ भने तपाई आउनुस् ।

Advertisement

उनले देशमा अहिले प्रतिगामी शक्तिहरुले टाउको उठाउने र व्यवस्थालाई समाप्त पार्ने काम भइरहेको समेत बताए । नेपालले राजतन्त्रले प्रकृतिको एकलौटी लुट मच्चाएको, लुम्बिनी विकास कोषमा लुट मच्चाएको, पशुपति विकास कोषमा लुट मच्चाएको, जनकपुरमा पनि त्यही ढंगले बाहिरबाट आएका अनेक श्रोत साधनहरुलाई एकलौटि कब्जा गरेको आरोप समेत लगाए ।

‘अहिले हाम्रो देशको सामु प्रतिगामी शक्तिहरुले टाउको उठाउने र यो व्यवस्थालाई समाप्त पार्ने मात्रै देखिएको छ । त्यसको सामना गर्ने हो । राजतन्त्रले फेरि फर्किएर आउने चाहना राखेको छ । त्यो कदापि सम्भव छैन’ अध्यक्ष नेपालले भने, ‘राजाको पालामा प्रकृतिको एकलौटी लुट मच्चाएको, लुम्बिनी विकास कोषमा लुट मच्चाएको, पशुपति विकास कोषमा लुट मच्चाएको, जनकपुरमा पनि त्यही ढंगले बाहिरबाट आएका अनेक श्रोतसाधनहरुलाई एकलौटि कब्जा गरेको, न खोज, न अनुसन्धान, न कुनै कसैले प्रश्न गर्ने ? यस्तो स्थिति थियो । कुनै कोणबाट हेर्दा पनि राजतन्त्रको औचित्यता पुष्टि गर्न सकिँदैन ।’

अध्यक्ष नेपालले सरकारको अहिलेको स्थितिसँग आफू सन्तुष्ट नरहेको समेत जिकिर गरे । उनले आफ्नो पार्टी मुलुकमा विद्यमान स्थितिको बारेमा गम्भीर रहेको बताए । अहिलेका समस्या समाधानका लागि गम्भीर विचार मन्थन हुन जरुरी रहेको बताए । उनले असन्तुष्ट मात्रै भएर पनि समस्या समाधान नहुने बताए ।

उनले भने, ‘हामी मुलुकमा विद्यमान स्थितिको बारेमा गम्भीर छाैँ । अहिलेको स्थितिसँग हामी सन्तुष्ट छैनौँ । तर असन्तुष्ट मात्रै भएर पनि केही हुँदैन । असन्तुष्टि समस्याको समाधान होइन । समस्याको समाधान भनेको खोजेर पत्ता लगाउने हो । समस्याका कारण पत्ता लगाउनुपर्छ । त्यसको समाधानको बारेमा गम्भीर विचार र मन्थन हुनुपर्छ ।’

अध्यक्ष नेपालले विश्वविद्यालयहरुमा विद्यार्थीहरु कमी भइरहेको बारेमा गहन अध्ययन गर्न जरुरी रहेको समेत बताए ।