Saturday, May 16

चार करोडको लागतमा लोमान्थाङ खोलामा पुल निर्माण

नेपालअखबार, म्याग्दी । कालीगण्डकी ‘करिडोर’ बेनी–जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङको लोमान्थाङ गाउँपालिकास्थित लोमान्थाङ खोलामा पक्की पुल निर्माण भएको छ।

बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत लोमान्थाङ खोलामा मोटर चल्ने पुल निर्माण भएको हो। पुल निर्माण भएपछि बाह्रै महिना यातायातका साधन सञ्चालन गर्न सहज भएको छ। पुल चार करोड ६८ लाख रूपैयाँ दुई हजारको लागतमा निर्माण भएको हो। पुल निर्माण पूरा गरी हस्तान्तरण गरिएको आयोजनाका सूचना अधिकारी इन्जिनियर विष्णु चापागाईंले बताए।

Advertisement

इन्जिनियर चापागाईँका अनुसार २०२ किलोमिटर दूरीको बेनी–जोमसोम कोरला सडकमा लोमान्थाङ खोलासहित थप छवटा गाडी चल्ने सडक पुल निर्माण भएका छन्। बेनी–जोमसोम कोरला आयोजनाले पाँचवटा पुल निर्माणका लागि विभिन्न निर्माण कम्पनीसँग ३१ करोड ६२ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको छ।

लोमान्थाङ गाउँपालिकाको लोमान्थाङसहित किम्लिङ, नाम्डोक र भर्माखोलाको पुल निर्माणका लागि मुक्तिनाथ–अमित जेभीले विसं २०७६ असार ३१ गते ठेक्का सम्झौता गरेको थियो। बेनी–जोमसोम–कोरला सडक योजनामार्फत १३ वटा पक्की पुल र तीनवटा बेलीब्रिज निर्माण भएका छन्।