Sunday, July 12

आसाम निवासी साहित्यकार पोखरामा सम्मानित

नेपालअखबार, पोखरा।  साहित्यकार नीता गुरुङ भाटिया पोखरामा एक समारोहबीच सम्मानित भएकी छन् ।
आसाम भारतको माउ संस्था आसाम गोर्खा सम्मेलन कामरूपकी उपाध्यक्ष तथा अ.ने.सा.स भारत असम गुवाहाटी शाखाकी सचिव नीता गुरुङ भाटियालाई पोखरामा सङ्घर्षमा कलमले सम्मान गरेको हो ।
सोही समारोहबीच उनको मुक्तकसङ्ग्रह मुटुदेखि मुटुसम्म लोकार्पण तथा स्रष्टा साक्षात्कारसमेत गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्त तथा क्रान्तिधरा साहित्य अकादमी मेरठ भारतका अध्यक्ष डा विजय पंडित, गण्डकी प्रज्ञा–प्रतिष्ठानका कुलपति सूर्य खडका बिखर्ची, पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पद्मराज ढकाल, पृथ्वीनारायण क्याम्पसका पूर्व क्याम्पस प्रमुख प्रा.डा. दीलबहादुर क्षत्री, शिक्षासेवी शेरबहादुर गुरुङ, समाजसेवी क्या. एल.पी. गुरुङ, जनकविकेशरी धर्मराज सावित्री प्रतिष्ठानका अध्यक्ष मदनराज थापालगायतले सम्मान अर्पणसहित कृतिको लोकार्पण तथा गरे ।
सरुभक्तले नेपाली साहित्यको श्रीवृद्धिमा घरदेश तथा परदेशमा क्रियाशील स्रष्टा साधकको योगदान अतुलनीय रहेको बताए । उनले मुक्तकको सहर पोखरामा नेपाली भाषी असमी साहित्यकारको कृति लोकार्पण हुनु गौरवको कुरा रहेको बताउँदै गुरुङले लेखन यात्राको सफलताको शुभेच्छा व्यक्त गरे ।
क्रान्तिधरा साहित्य अकादमी मेरठ भारतका अध्यक्ष डा. विजय पंडितले आफू बुद्ध, राम र भृकुटीको भूमिमा नेपाल–भारतको साहित्यिक तथा सांस्कृतिक सम्बन्धलाई प्रगाढ बनाउन निरन्तर क्रियाशील रहेको बताए । उनले नेपाल–भारत साहित्य महोत्सव नै मुटुदेखि मुटुसम्म पोखरा लोकार्पणको सेतु बनेर आएको देख्दा पाउँदा आफूलाई निकै खुसी लागेको धारणा राखे ।
गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्चीले स्रष्टा साधक सदा विष पिएर अमृत बगाउन तल्लीन रहेको बताए ।
पोखरा प्रज्ञा–प्रतिष्ठानका कुलपति पद्मराज ढकालले नेपाली भाषी स्रष्टा साधकको कृति पोखरामा लोकार्पण हुनु आफैँमा गौरवको विषय भएको बताए ।
पृथ्वीनारायण क्याम्पसका पूर्व क्याम्पस प्रमुख प्रा.डा. दीलबहादुर क्षत्रीले घरदेश र परदेशलाई जोड्ने सेतु नै भाषा साहित्य रहेको धारणा व्यक्त गरे ।
अनेसास गण्डकीका संस्थापक अध्यक्ष दुर्गाबहादुर शाह बाबाले स्रष्टा साधक जहाँको जसरी भेट भए पनि त्यसको करदका लागि कञ्जुस्याई गर्न नहुने धारणा राखे । उनले स्रष्टा साधकका लागि कृति लोकार्पण तथा सम्मान समारोह सदा प्रेरणाका श्रोत बनेर बस्ने पनि बताए ।
मुक्तक मञ्च पोखराका संस्थापक गोविन्द गिरीले पोखराको साहित्यिक श्रीवृद्धिमा विधागत र अन्य संस्थागत गतिविधिबाट आफू पुलकित भएको बताए । उनले मुक्तक मञ्च स्थापना कालदेखि विविध गतिविधि सञ्चालन गर्दै आएकोसङ्घर्षमा कलमको कार्यक्रममा सहभागी हुन पाउँदा निकै खुसी लागेको बताए ।
स्वतन्त्र पत्रकार संघ कास्कीका अध्यक्ष असफल गौतमले आफूलाई स्रष्टा साधक ठान्नेहरूमा देखिने कुष्ठा, आत्मश्लाघा र अहम्ले वाङ्मयिक धरातल समृद्ध हुन नसक्नेमा चिन्ता व्यक्त गरे ।
स्रष्टा नीता गुरुङ भाटियाले नेपाल भारत साहित्य महोत्सव नै आफ्ना लागि पोखरामा कृति लोकार्पण र सम्मान ग्रहणको सुनौलो अवसर बनेको बताइन् । उनले पोखरेलीले देखाएको सद्भाव र स्नेहले थप जिम्मेवारी बोधका साथ अगाडि बढ्न प्रेरणा मिलेको धारणा राखिन् ।
समारोहमा अनेसास नेपाल च्याप्टर सदस्य ऋषभदेव घिमिरे, गण्डकी साहित्य संगमका अध्यक्ष भीम रानाभाट, शिक्षासेवी शेरबहादुर गुरुङ, समाजसेवी क्याप्टेर एल.पी. गुरुङ, कृष्ण रानाभाट सारथिले नीताका विविध साहित्यिक र सांगीतिक यात्रा बारे प्रकाश पारेका थिए ।

Advertisement

 

Advertisement
Advertisement

Advertisement