नेपालअखबार, काठमाडाैं। नेकपा (एकीकृत समाजवादी) ले पहिलो महाधिवेशनका लागि दस्तावेज लेखनको जिम्मेवारी बाँडफाँट गरेको छ।
फागुन १५, १६ र १७ गते बसेको दस्तावेज मस्यौदा कमिटीले राजनीतिक प्रतिवेदन तयार पार्ने जिम्मा अध्यक्ष माधवकुमार नेपाललाई दिएको छ।
सम्मानित नेता झलनाथ खनालले समाजवादी कार्यक्रमको रूपरेखा तयार पार्नेछन्।
बेदुराम भुसालले विधान मस्यौदा तयार पार्नेछन् भने महासचिव घनश्याम भूसालले सङ्गठनात्मक प्रस्ताव लेखनको संयोजन गर्ने जिम्मा पाएका छन्।
बैठकमा नेपाली समाज र राजनीतिक विकासको अवस्था, अन्तर्राष्ट्रिय परिस्थिति, नेपाली समाजको अन्तर्विरोधबारे छलफल भएको महासचिव भूसालले बताए।
त्यस्तै, नेपालको समाजवादी रूपान्तरणका अवस्था र दिशा, नयाँ जनवाद, जनताको बहुदलीय जनवादलगायत जनवादी क्रान्ति कालका सैद्धान्तिक उपलब्धीहरुको समीक्षा, समाजवादी कार्यक्रमका ढाँचा, सङ्गठनात्मक प्रस्ताव र पार्टी विधानजस्ता विषयमा गहन र खुला विमर्श भएको उनले बताए।
‘यसबीचमा भएका कतिपय अड्कल र प्रचारका विपरीत ती सबै विषयमा मूलभूतरूपमा बैठक सर्वसम्मतिमा पुगेको छ। समाजवादका लागि नयाँ कार्यक्रमका साथ अगाडि बढ्ने पार्टीको यो सङ्कल्पले अहिलेको विभाजित कम्युनिष्ट आन्दोलनमा दूरगामी प्रभाव पार्नेछ भन्ने कुरामा पार्टी विश्वस्त छ। र, यसले हाम्रो पार्टी पङ्तिलाई नयाँ आशा र विश्वासका साथ अगाडि बढ्न नयाँ उत्साह वृद्धि गर्नेछ,’ भूसालले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
एकीकृत समाजवादीमा एमालेले अङ्गीकार गर्दै आएको जनताको बहुदलीय जनवादलाई नै निरन्तरता दिने कि नयाँ कार्यक्रम बनाउने बहस छ। यसमा अध्यक्ष नेपाल र नेता खनाललको दुई धार देखिएको छ।
नेता खनालले जनताको बहुदलीय जनवादलाई नै निरन्तरता दिने हो भने एमाले भन्दा फरक नहुने भन्दै नयाँ समाजवादी कार्यक्रम अघि सार्नुपर्ने बताउँदै आएका छन्।
अध्यक्ष नेपालको मत भने जनताको बहुदलीय जनवादलाई नै परिस्कृत बनाउँदै लैजानुपर्ने बताउँदै आएका छन्।
एकीकृत समाजवादीको पहिलो महाधिवेशन जेठको तीन गतेबाट काठमाडौंमा हुँदैछ।