Friday, August 21

उपनिर्वाचन कार्यतालिका प्रकाशन: चैत २४ मा उम्मेदवारी दर्ता

नेपालअखबार, काठमाडाैं। निर्वाचन आयोगले उपनिर्वाचनका लागि कार्यतालिका प्रकाशन गरेको छ।

Advertisement

वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ र बझाङ क्षेत्र नम्बर १ (१) मा उपनिर्वाचन हुँदैछ।

Advertisement
Advertisement

त्यसको लागि आयोगले शुक्रबार निर्वाचन कार्यक्रम स्वीकृत गरी प्रकाशन गरेको प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलले जानकारी दिए।

Advertisement

कार्यक्रम अनुसार चैत्र २४ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुनेछ।

सोही दिन बेलुका ५ बजेदेखि ६ बजेसम्ममा उम्मेदवारको सूची प्रकाशन हुने आयोगले जनाएको छ।

सूचीमा रहेका उम्मेदवारको विरोधमा उजुरी दिने अवधि चैत्र २५ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म तोकेको छ।

सोही दिनको अपराह्न ३ बजे उपरान्त चैत्र २६ गते बेलुका ५ बजेसम्ममा मनोनयनपत्र र उजुरी उपर जाँचबुझ एवं निर्णय गरी चैत्र २६ गते बेलुका ५ बजेदेखि ६ बजेसम्ममा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको नामावली प्रकाशन गरिने प्रवक्ता पौडेलले बताए।

चैत्र २७ गते बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिन सकिन्छ।

आयोगका अनुसार सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्ममा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी दिउँसो ३ बजेदेखि ५ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने कार्यक्रम रहेको छ।

निर्वाचन कार्यक्रमअनुसार २०८१ वैशाख १५ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुनेछ।

प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ को समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा नाम समावेश भएको व्यक्ति उक्त बन्दसूचीबाट नाम हटेको अवस्थामा बाहेक यस उपनिर्वाचनमा उम्मेदवार हुन नपाउने कानूनी व्यवस्था रहेको प्रवक्ता पौडेलले बताए।