कृषिसमाचारसमाज

अन्न उत्पादन घटेपछि तरकारी र फलफूल खेतीमा लागे किसानहरू

Nepal Akhabar

नेपालअखबार, म्याग्दी। अन्नबाली लगाउँदा लगानीअनुसार प्रतिफल प्राप्त नभएपछि म्याग्दीका किसानले व्यावसायिक तरकारी र फलफूलखेती सुरु गरेका छन्।

बेनी नगरपालिका–२ का किसान क्षेत्रबहादुर कटुवालले परम्परागत रुपमा गर्दै आएको स्थानीय जातको धान र गहुँखेतीबाट अपेक्षित उत्पादन नभएपछि सागसब्जी र फलफूलखेती प्रारम्भ गरेका छन्।

धान फल्ने खेतमा केराखेती सुरू गरेका खिमबहादुर कार्की र दुर्गाबहादुर थापाले धान फल्ने खेतमा केराखेती गरेर परम्परागत खेतीबाट हुने आयभन्दा तीनगुणा बढी आम्दानी गरेका छन्।

रोहोटेका हरिलाल घिमिरेले अन्नबालीको विकल्पमा मौसमी तथा बेमौसमी सागसब्जी फलाएर मनग्य आम्दानी गरेको बताउँछन्।

खेतबारीमा गौरिया, गुडुरा, आँगा, जौ धानलगायत रैथाने धानको उत्पादन कम भएपछि अन्नबालीको साटो फलफूलखेती थालेको उनको भनाइ छ।

‘खाना स्वादिष्ट र पोषणयुक्त भएपनि लागतअनुसार उत्पादन नहुँदा गुजारा चलाउन धौधौ भएपछि वैकल्पिक खेती सुरु गरेको हुँ । मुस्किलले १२ हजारको अन्न उत्पादन हुने खेतबारीमा सागसब्जी र फलफूलखेती गरेपछि अहिले वार्षिक तीन लाखदेखि पाँच लाख रूपैयाँसम्म आम्दानी भइरहेको छ,’ उनले भने। जिल्लाका  किसानले अन्नबाली लगाउन छाडेपछि केही अन्नको बीउ पाउन कठिन भएको छ।

मंगला गाउँपालिका–५ का मनप्रसाद सापकोटाले गाउँमा गौरिया र गुडुरा धानको नपाइएको बताए।

गौरिया धानमा लगातार तीन वर्षसम्म रोग लागेर उत्पादन कम भएपछि खेती गर्न छाडेको उनले बताए।

‘रोग र किराको प्रकोपले सोचेअनुसार उत्पादन नहुँदा हामीले यसको खेती घटाउँदै गएका छौँ,’ उनले भने, ‘बर्सेनि नयाँ रोगले बाली नष्ट हुन्छ, पहिलाको जस्तो उत्पादन हुँदैन।’

हिमाली क्षेत्रमा फल्ने चिनो, कागुनो, उवा, फापर, आँगा, गौरिया, गुडुरा, ताकमारे, जौ, धान, कोदो, सिमी, जुनेलो, सिलाम र जौलगायत रैथाने बाली सङ्कटमा पर्न थालेका कृषि ज्ञानकेन्द्र म्याग्दीले जनाएको छ। रासस

the authoradmin