
नेपालअखबार, काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले बाहिरबाट प्रशिक्षार्थी कर्मचारी भर्ना गरेर काम गराउन ल्याएको कार्यविधिमाथि प्रतिनिधि सभा बैठकमा प्रश्न उठेको छ।
नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष तथा प्रतिनिधिसभा सदस्य राजेन्द्र पाण्डेले मंगलबार बसेको प्रतिनिधि सभा बैठकको विशेष समयमा बाल्दै मन्त्री श्रेष्ठले निजामती कर्मचारीलाई बाइपास गरेर बाहिरबाट कर्मचारी भर्ना गर्न खोजेकोप्रति आपत्ति जनाउनु भएको छ।
उहाँले शिक्षा मन्त्रालयका विभिन्न शाखामा रहेका निजामती कर्मचारी कामविहीन भइरहेको अवस्थामा बाहिरबाट कर्मचारी भर्ना गर्नुको औचित्य नहुने बताउनु भयो। उहाँले भइरहेका कर्मचारीमाथि अविश्वास गरेर र त्यसरी बाहिरबाट प्रशिक्षार्थी कामदार ल्याउँदा सरकारी सूचनाको गोपनीयता भङ्ग हुने बताउनु भएको हो।
सांसद पाण्डेले भन्नुभयो, ‘भइरहेका कर्मचारीलाई अविश्वास गरी बाहिरबाट प्रशिक्षार्थीका रूपमा कर्मचारी भर्ना गर्दा ७४ हजार निजामती कर्मचारीमा कस्तो प्रभाव पर्ला? सरकारले सोचेको छ? के हेर्नुभएको छ सरकारका प्रधानमन्त्रीले? उहाँका सबै मन्त्रीहरूलाई आफूखुसी मन्त्रालय चलाउने छुट दिनुभएको हो? त्यो छुट्टै आइल्याण्ड हो? जे मन लाग्यो त्यही निर्णय गर्न पाइन्छ? अनि यी सित्तैमा काम गर्न आउने मान्छे हो कि होइनन्? शिक्षामन्त्रीले गरेजस्तै मेरो अन्डरका पुलिसले काम गरेनन्, सहयोग गरेनन्, म छुट्टै प्रशिक्षार्थी पुलिस भर्ना गर्छु भन्ने कि नभन्ने?’
यो खालको कामले देशलाई र विधिको शासनलाई कहाँ पुर्याउँछ भन्दै सांसद पाण्डेले प्रश्न गनु भयो। मन्त्री श्रेष्ठले प्रशिक्षार्थी कामदार राख्ने कार्यविधिले निजामती कर्मचारीको मनोविज्ञानमा असर पर्छ कि पर्दैन भन्दै शिक्षा मन्त्रीलाई जवाफका लागि रुलिङ गर्न सभामुखलाई आग्रह गर्नुभयो।

