प्रशासनसमाचार

निलम्बित जिल्ला न्यायाधीश भुवन गिरीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

नेपालअखबार, काठमाडाैं। सर्वोच्च अदालतले निलम्बित जिल्ला न्यायाधीश भुवन गिरीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।

न्यायाधीश हरिप्रसाद फुँयाल र तिलप्रसाद श्रेष्ठको इजलासले बुधबार गिरीलाई थुनामा पठाउन आदेश दिएको हो। जिल्ला अदालतले गिरीलाई धरौटीमा छोडेको थियो भने उच्च अदालतले जिल्लाकै आदेश सदर गरेको थियो।

उच्चको आदेश बेरितको देखिएकाले बदर गरिएको छ।

पीडित महिलाले पहिल्यै गिरीविरूद्ध वैवाहिक बलात्कारको जाहेरी दिएकी थिइन्। उक्त मुद्दाका साथै सम्बन्ध बिच्छेदको मुद्दा विचाराधीन रहेकै अवस्थामा काठमाडौंस्थित कोठामा आएर गिरीले आफूलाई जबरजस्ती करणी गरेको भन्दै अर्को जाहेरी दिएकी थिइन्।

उक्त जाहेरीमा अनुसन्धान हुँदा घरबेटीका साथै अरू दुई महिलाले पनि गिरीले पीडित महिलालाई जबरजस्ती गरेको भन्ने कुरा सुनेको भनेर कागज गरिदिएका थिए।

यस्तो अवस्थामा गिरी एक्लै किन पीडितको कोठामा गएको कुरालाई इजलासले अस्वाभाविक भनेको छ।

‘यी सबै परिस्थिति र प्रमाणलाई विचार गर्दा गिरी अहिले नै कसुरदार होइनन् भन्न सकिने स्थिति नभएको’ सर्वोच्चको आदेशमा उल्लेख छ।

त्यसैले काठमाडौं जिल्ला अदालतले धरौटीमा छोड्ने गरी गरेको आदेश सदर गर्ने उच्चको आदेश बदर गरिदिएको सर्वोच्चको आदेशमा उल्लेख छ।

गिरी कपिलवस्तुमा जिल्ला न्यायाधीश थिए। त्यही बेला उनकी श्रीमतीले वैवाहिक बलात्कारको जाहेरी दिएकी थिइन्। सोही जाहेरीमाथि अनुसन्धान भई मुद्दा अदालतमा दर्ता भएपछि गिरीलाई न्यायपरिषदले निलम्बन गरेको थियो।

bhuwan-giri-adesh-1712146215.jpg
bhuwan-giri-adesh-1-1712146215.jpg

the authoradmin