समाचारसमाजस्वास्थ्य

अब किमालुङमै सुविधासम्पन्न प्रसूति सेवा, संखुवासभा जानुपर्ने बाध्यता हट्यो

Nepal Akhabar

नेपालअखबार, भाेजपुर। भोजपुरको षडानन्द नगरपालिका–९ किमालुङमा सुविधासम्पन्न प्रसूति सेवा भवन निर्माण  भएको छ। जिल्लाको विकट यो गाउँमा एक करोड लागतमा भवन निर्माण गरिएको हो।

भवन निर्माणसँगै सुत्केरी गराउन तथा स्वास्थ्य सेवा लिन छिमेकी जिल्ला सङ्खुवासभा जानुपर्ने बाध्यताको अन्त्य भएको छ।

भवनमा आवश्यक उपकरण पनि जडान गरिएको छ। अब स्वास्थ्य सेवा लिन सहज भएको स्थानी वीरबहादुर तामाङले बताए।

‘यो दुर्गम ठाउँमा सुविधासम्पन्न स्वस्थ्य भवन बनेको छ, सेवा लिन सङ्खुवासभा जानुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य भएको छ। अब राज्यले आवश्यक जनशक्ति व्यवस्थापनमा ध्यान दिन आवश्यक छ,’ उनले भने।

यो भवनबाट षडानन्द नगरपालिका वडा नं १०, ९, ८ र ३ का स्थानीयलाई प्रत्यक्ष लाभ पुग्ने वडाध्यक्ष निमा शेर्पाले बताए।

नेपाल हेल्पिङ एजुकेशन फाउण्डेसन अफ नेपालको अनुदानमा एक करोड लागतमा केन्द्र स्थापना गरिएको हो। भवन निर्माणमा  जर्मनीका दुई र स्वीटजरल्याण्डको एउटा संस्थाको सहयोग रहेको उनले जानकारी दिए

नवनिर्मित सात कोठाको भवनमा आवश्यक सम्पूर्ण आधुनिक  उपकरण जडान गरिएको फाउण्डेसनका प्रबन्धक रामकुमार तामाङले बताए।

‘करिब रु एक करोड लागतमा भवनसँगै आवश्यक उपकरण जडान गरेका छौँ, यहाँ आवश्यक पर्ने जनशक्ति षडानन्द नगरपालिकाले व्यवस्थापन गर्ने सम्झौता गरेका छौं। यहाँ शल्यक्रिया गरेर सुत्केरी गराउन सक्ने उपकरण जडान गरिएको छ। यससँगै अन्य स्वास्थ्य सेवा पनि प्रवाह गर्न सकिन्छ,’ उनले भने।

सम्झौताअनुसार जनशक्तिको व्यवस्थापन गरिने नगरपालिका प्रमुख सुरेन्द्रकुमार उदासले बताए।

नवनिर्मित भवनलाई सरकारको स्वामित्वमा ल्याएर जनशक्ति व्यवस्थापनसँगै सञ्चालन गरिने उनले बताए।

भवन निर्माण गर्न स्थानीय सुवास तामाङले निःशुल्क एक रोपनी जग्गा प्रदान गरेका हुन्।

उनकै आमा पाक्तुरी मायाको नामबाट भवनको नामकरण गरिएको छ।

the authoradmin