राजनीतिसमाचार

नयाँ वर्ष २०८१ का अवसरमा शुभकामना सहित कम्युनिष्ट आन्दोलनलाई सकारात्मक दिशामा अघि बढाउने : वरिष्ठ नेता खनाल

नेपालअखबार, काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले नयाँ वर्ष २०८१ का अवसरमा शुभकामना सन्देश जारी गर्नु भएको छ।

शनिबार एक विज्ञप्ति जारी गर्दै वरिष्ठ नेता खनालले उतार चढावकाबीच २०८१ सालको अन्त्य भएको बताउनु भएको छ।

उहाँले जारी गरेको विज्ञप्तिमा भन्नुभएको छ, ‘हामीले उतार चढावपूर्ण २०८० को वर्षलाई पार गरेका छौं र नयाँ आशा, अपेक्षा, सम्भावना र चुनौतीहरू लिएर आएको संवत २०८१ मा प्रवेश गरेका छौं । आज यो नयाँ वर्षको पहिलो दिन १ यस सुखद उपलक्ष्यमा म देश र प्रवासमा रहनुभएका सम्पूर्ण कमरेडहरु, वामपन्थी साथीहरु, नेपाली दिदीबहिनी तथा दाजुभाईहरूलाई हर क्षेत्रमा अग्रगति र प्रगतिका निम्ति हार्दिक शुभकामना प्रकट गर्दछु ।

हामीले एकातिर एउटा उथलपुथलपूर्ण, आक्रमण, हस्तक्षेप, युद्ध, विध्वंस र नरसंहारका प्रवृत्तिहरू र अर्कोतिर शान्ति, विकास, स्वतन्त्रता, समाजवाद र समृद्धिका शक्तिहरूको विस्तारको प्रवृत्ति तथा पूर्व र पश्चिम अनि उत्तर र दक्षिण बीचको बढ्दो टक्करका बीच विश्व परिस्थिति विकसित भइरहेको देखिरहेका छौं।

त्यसरी नै हाम्रो देशले समाजवादी क्रान्ति र रूपान्तरणको युगबाट अघि बढ्ने क्रममा एउटा उथलपुथलपूर्ण वर्षलाई पार गरेका छौं । गत वर्ष भरि देशका वामपन्थी शक्तिहरु एक आपसमा विभाजित हुने, एक अर्कोप्रति आक्रामक हुने र आफूले आफैलाई कमजोर बनाउने दिशामा लागे भने दक्षिणपन्थी शक्तिहरुले आफूलाई बलियो बनाउँदै लगे । त्यसले मुलुकमा अस्थिरता, दिशाहिनता र अकर्मण्यता सृर्जना गर्यो । मुलुकको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक र राष्ट्रियताको क्षेत्र संकट ग्रस्त बन्दै गयो । अहिले पनि मुलुक चौतर्फि संकटले आक्रान्त छ । तर वर्षको ११ औँ महिनामा आइपुग्दा देशका वामपन्थी शक्तिहरू निकट आएका छन, संयुक्त सरकारमा सहभागी बनेका छन र जनता र राष्ट्रका साझा सवालमा एकताबद्ध भएको घोषणा गरेका छन् । यो एउटा सकारात्मक राजनीतिक विकास हो ।

तर, के देशको परिस्थितिलाई र कम्युनिष्ट आन्दोलनलाई सकारात्मक दिशामा अघि बढाउन यति कुरा नै पर्याप्त छ त रु बिल्कुल छैन । त्यसका निम्ति सबै वामपन्थी समूहहरूमा “म ठूलो, म बलियो र मैले सबै कुरा पाउनुपर्छ” भन्ने जस्ता दम्भ र घमण्डबाट मुक्त हुनुपर्छ, सबैका बीच समानता र सम्मानका साथ साझा आधारमा एकताबद्ध बन्न र बनाउन सक्नुपर्छ, जनता र राष्ट्रका ज्वलन्त सवालहरूको समाधानका निम्ति एकजुट हुन सक्नुपर्छ, भूमि सुधार र कृषि क्रान्तिलाई अघि बढाउन सक्नुपर्छ, कृषकहरुलाई सबै सेवा दिनका साथै उनीहरूका उत्पादनका लागि समर्थन मूल्य तोक्ने र सरकारले खरिद गर्ने नीति लिन सक्नुपर्छ, मुलुकलाई औद्योगिकरणको दिशामा अघि बढाउन सक्नुपर्छ, भ्रष्टाचारलाई अन्त्य गर्न सक्नुपर्छ, मूल्य वृद्धि र मंहगीलाई रोक्न सक्नुपर्छ, देशभित्रै व्यापक रोजगारी सिर्जना गर्दै युवाहरूको विदेश पलायनलाई रोक्न सक्नुपर्छ, शिक्षा र स्वास्थ्यमा आमूल परिवर्तन गर्न सक्नुपर्छ, मुलुकलाई विदेशीहरूको क्रिडास्थल बन्नबाट रोक्न सक्नुपर्छ, राष्ट्रियतालाई बलियो बनाउनुपर्छ र मुलुकको विकास निर्माणको प्रकृयालाई तीव्र बनाउँदै समाजवादको आधारलाई फराकिलो पार्दै लान सक्नुपर्छ । तब मात्र जनतामा आशावादको सञ्चार हुनसक्छ, राष्ट्रिय स्वाभिमान बलियो हुन्छ र विश्वभरि फैलिँदै गएका नेपालीको प्रतिष्ठा पनि उच्च हुन्छ ।

उपरोक्त काम गर्न सकिएन भने वर्तमान सरकारका बारेमा पनि “जुन जोगी आए पनि कानै चिरेको” भन्ने उखान मात्र चरितार्थ हुन्छ । त्यसैले सम्पूर्ण वामपन्थी साथीहरु १ बदलिदो अन्तराष्ट्रिय र राष्ट्रिय परिस्थितिको सहि विश्लेषण गरौं, नेपाली समाज समाजवादी क्रान्ति र रूपान्तरणको युगमा आइसकेको छ भन्ने कुरालाई गहिरो समझ बनाऔँ, समाजवादी क्रान्तिका सहि कार्यदिशा, नीति र सिद्धान्तहरू अघि सारौं, त्यसैका आधारमा एकताका आधारलाई फराकिलो पारौँ, मिल्न सकिने सवालमा मिल्दै अघि बढौँ, नमिलेका कुरामा नीतिनिष्ट ढङ्गले बहस गरौं र एकताका आधारहरूलाई फराकिलो पार्दै अघि बढौं । देशी विदेशी दक्षिणपन्थी शक्तिहरु अहिलेको गठबन्धन सरकारलाई पनि तोड्न चाहन्छन, उनीहरु त्यसमा लागिरहेका छन, हामी त्यस बारेमा सचेत बनौँ र मुलुक तथा जनताका ज्वलन्त समस्याहरु समाधान गर्दै समाजवादको दिशामा दृढ भएर अघि बढौं। यसरी अघि बढेको खण्डमा ८०को दशक कम्युनिष्ट आन्दोलनको एकता, पुनर्गठन, अग्रगतिर र प्रगतिको दशक बन्न सक्छ । नेपाली समाज पनि सबै चुनौतिहरूको सामना गर्दै समाजवादको दिशातिर दृढतापूर्वक अघि बढ्न सक्छ।’

the authoradmin