Monday, July 6

ओलीमा व्यक्तिवाद नै हावी भएकाले आफ्नै नाममा प्रतिष्ठान खोल्ने, खेलकुद प्रतियोगिता गर्दै आएकाछन्: अध्यक्ष नेपाल

नेपालअखबार,काठमाडौँ । सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले केपी ओलीको नाममा हुने खेलकुद प्रतियोगिताप्रति आपत्ति जनाएका छन् । शनिबार पार्टीको कोशी प्रदेश कमिटीले काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले ओलीमा व्यक्तिवाद भएकाले आफ्नै नाममा प्रतिष्ठान खोल्ने गरेको, खेलकुद प्रतियोगिता आयोजना गर्ने गरेको भन्दै आक्रोश व्यक्त गरेका हुन् ।

Advertisement

अध्यक्ष नेपालले बुर्जुवा पार्टीमा पनि ज्युँदो नेताको नाममा प्रतिष्ठान खोल्ने, खेलकुद प्रतियोगिता गर्ने चलन नभए पनि ओलीको व्यक्तिवादी चरित्रकै कारण त्यो सम्भव भएको बताए । अध्यक्ष नेपालले २० वर्ष अझै पार्टीको नेतृत्व गर्छु भने पनि ओलीलाई चुनौती दिनेहरू जन्मिएको दाबी गरे ।

Advertisement
Advertisement

नेपालले भने, ‘एउटा पार्टी छ, जसले आफ्नो नेताको नाममा प्रतिष्ठान खोलिदिएको छ । आफ्नै नेताको नाममा खेलकुद प्रतियोगिता गरिदिएको छ । ज्युँदै फेरि । पुष्पलालको नाममा भएको भए राम्रै हुन्थ्यो । मनमोहनजीको नाममा भएको भए गज्जबको राम्रो हुन्थ्यो । मदन भण्डारीको नाममा भएको भए क्याबातको कुरा हुन्थ्यो । बुर्जुवा पार्टीले पनि त्यसो गर्दछन् । बिपी कोइरालाको नाममा गर्छ । गणेशमानको नाममा गर्छ । तर आफ्नै नाममा गर्‍या छ । यसलाई भन्छन्–व्यक्तिवाद । अनि त्यही व्यक्तिवाद बोक्नेले के भन्छ भने–२० वर्षसम्म कसैले नेतृत्व ताक्छ त ?’

Advertisement

अध्यक्ष नेपालले ओलीले अरूको मानमर्दन गर्ने गरेको गुनासो पनि गरे । उनले भने, ‘यस्तो भन्नुहुँदैन । राम्रो कुराको पो गर्ने हो । हामी सबै बाचुन्जेल देश र जनताको सेवा गरौँ है, लिएर जानु के छ र है भनेर भन्नु पो पर्‍यो त । चुनौती दिने होइन । होइन भने चुनौती दिने अरू पनि जन्मेका छन् । यो हेक्का होस् । समाजमा सम्बन्धहरू किन बिग्रन्छन् ? किनभने व्यवहार गर्न नजानेर । अहङ्कार बोकेर । अरूको मानमर्दन गरेर । अनि अरूलाई दास सरह व्यवहार गरेर । यसरी सम्बन्धहरू बिग्रने गर्दछन् । त्यसो हुनाले म हाम्रो पार्टीको तर्फबाट यति मात्रै भन्न चाहन्छु–ज्ञान पनि दिन चाहन्न म । बुद्धि पनि दिन चाहन्न । ज्ञान र बुद्धिका पोका त अन्त्यै छन् होला । तर मिठो बोलौँ, राम्रो बोलौँ । भलो गरौँ, दिमागमा तीन वटा कुरा राखौँ–देशको हितको रक्षा गर्ने कसरी, देशको इज्जत र प्रतिष्ठालाई उठाउने कसरी, देशभक्त नागरिक हामी बन्ने कसरी ? यो कुरामा ध्यान दिऊँ । जनताको सेवा गर्ने कुरामा समर्पित बनौँ ।’