राजनीतिसमाचार

रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन हुनुपर्ने कांग्रेसको माग

नेपालअखबार, काठमाडौँ । नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री लामिछानेमाथि संसदीय छानबिन समिति गठनको अडान कायम राखेको छ । सभामुख देवराज घिमिरेसहित प्रमुख दलहरूको बैठकमा कांग्रेसले आफ्नो पुरानो माग दोहोर्‍याएको संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बताए ।

उनले भने, ‘हामीले संसदीय छानबिन समिति गठनको माग दोहोर्‍याएका छौँ । सहकारीको ठगीमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको कुरा चारैतर्फबाट देखिएको अवस्था छ ।’

गृहमन्त्रीलाई शंकाको सुविधा दिएको भन्दै राजीनामा नमागेर संसदीय छानबिन समिति गठनको माग गरेको उनको भनाइ छ ।

‘उहाँलाई अहिले नै मुद्दा चलाइहाल्नुपर्छ पनि भनेका छैनौं । तर, उहाँको विषयमा प्रश्न उठिसकेपछि कमसेकम संसदीय छानबिन समिति बनाएर छानबिन गर्नुपर्छ भन्ने कुरा हामीले राखिरहेका छौँ ,’ उनले भने, ‘सरकार संसदीय छानबिन समिति बनाउनुपर्छ । सरकारले बनाउँछ भन्ने हामीले विश्वास लिएका छौँ ।’

रुपन्देहीको जिल्ला अदालतमा सरकारी वकिलको कार्यालयले प्रस्तुत गरेको अभियोग पत्रको ठाउँ–ठाउँमा रवि लामिछानेको नाममा कुनै पनि प्रक्रिया नपुर्‍याएर ऋण गएको लेखकले बताए । ‘विना प्रक्रिया ऋण लगानी गरेको लेखिएको छ । रवि लामिछाने स्वयम् गोरखा मिडिया नेटर्वकको सञ्चालक तथा प्रबन्ध निर्देशक भएको अवस्थालाई पनि अभियोग पत्रमा देखाइएको छ,’ उनले भने ।

सरकारी सहकारी पीडितको विषयलाई गम्भीरतापूर्वक नलिएको उनको भनाइ छ । ‘सहकारी पीडितको समस्यालाई सम्बोधन नगर्ने गरेर राज्यका विभिन्न संयन्त्रहरुलाई  दुरुपयोग गर्ने हामीलाई आशङ्का छ,’ उनले भने ।

the authoradmin