राजनीतिविदेशसमाचार

दिल्लीका मुख्यमन्त्री केजरीवाल अन्तरिम जमानतमा रिहा

नेपालअखबार,काठमाडौं । भ्रष्टाचार आरोपमा पक्राउ परेका नयाँदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई अन्तरिम जमानतमा रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

उनलाई आगामी जुन महिनाको १ तारिखसम्म जमानतमा रिहा गर्न सर्वोच्चले आदेश दिएको हो । साथै उनलाई जुन २ तारिखमा फेरि अदालतमै हाजिर हुन भनिएको छ ।

मदिरा सम्बन्धी नीतिगत निर्णयमा अनियमितता गरेको आरोपमा आम आदमी पार्टी (आप)का नेता केजरीवाल ४० दिनदेखि तिहाड जेलमा बन्द छन् । उनी आज साँझसम्म जेल मुक्त हुने भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

भारतमा जारी लोक सभाको चुनाव अगाडि केजरीवाल पक्राउ परेका थिए । सात चरणमा भइरहेको लोक सभाको चुनाव आगामी जुन एक तारिखमा सकिन्छ । त्यही चुनावको प्रचारमा सहभागी हुन उनलाई अदालतले अनुमति दिएको हो । जेलमुक्त भए पनि उनलाई कार्यालयमा गएर काम गर्न भने अनुमति दिइएको छैन ।

भारतमा लोक सभाको सात चरणको चुनावमध्ये तीन चरणको चुनाव सकिइसकेको छ । नयाँदिल्लीमा यही मे २५ तारिखमा चुनाव छ ।

न्यायाधिश सन्जीव खन्नाले पाँच वर्षमा एकपटक हुने चुनावमा भोट हाल्न पाउनु र चुनाव प्रचार गर्न पाउनु मौलिक अधिकार भएको भन्दै केजरीवाललाई अन्तरिम जमानतमा रिहा गर्न आदेश दिएका थिए ।

the authoradmin