Saturday, August 15

जलारीमार्फत फेवातालको जलकुम्भी निकाल्दै पोखरा महानगर

नेपालअखबार, पोखरा । बर्खा लागेपछि फेवाताल जलकुम्भीले ढाकिन्छ । बिस्तारै वर्षा सुरु भएको छ । तालमा जलकुम्भी देखिन थालेका छन् । हरेक वर्ष पर्यटकको चिन्ता बर्खामा ताल हेर्न नपाउने हो । यो वर्ष पोखरा महानगरपालिकाले सुरुदेखि नै जलकुम्भी हटाउन जलारी समुदायका नागरिकहरूलाई जागिर दिएको छ । माथिल्लो तटीय क्षेत्रमा जलकुम्भी हटाउन ४० जनालाई रोजगारी दिइएको नगरपालिकाले जनाएको छ ।

Advertisement

सोमबारदेखि नै दैनिक ज्यालादारीमा उनीहरूलाई काममा लगाउन लागिएको हो । ‘तालमा बगेर आउने जलकुम्भीको नियन्त्रणका लागि नियमित काम गर्ने गरी पहिलो चरणमा ४० जनालाई खटाउन लागेका छौँ,’ महानगर प्रमुख धनराज आचार्यले भने, ‘यसपछि तालको संरक्षण तथा सौन्दर्यीकरण सहित स्थानीय रोजगारीसँग पनि जोडिनेछ ।’ यो वर्ष जलकुम्भीको स्रोतमा नै व्यवस्थापन गर्न लागिएको उनको भनाई छ ।

Advertisement
Advertisement

आइतबार महानगरले नागरिक समाज कास्की तथा वातावरण संरक्षणका लागि महाअभियानसँगको सहकार्यमा भकुन्डे क्षेत्रको जलकुम्भी झार निकालेको छ । पहिलो दिन १५ टिपर जलकुम्भी निकालिएको छ । नागरिक अगुवा रामबहादुर पौडेल शक्तिकेन्द्रको प्रभावले ताल संरक्षण जटिल बन्दै गएको भन्दै चिन्ता व्यक्त गरे । ‘फेवातालको भविष्यप्रति हामी निकै चिन्तित छौँ,’ उनले भने, ‘शक्ति केन्द्रहरूको प्रभावका कारण संरक्षण झनै चुनौतीपूर्ण बन्दै गएको छ ।’

Advertisement

ताल सफाइमा सुरक्षा निकाय, अभियन्ता र स्थानीय नागरिकहरूको सहभागिता थियो । योसँगै महानगरले एक जलारी घर एक रोजगारी कार्यक्रम सुरु गरेको छ । उनीहरुले २ सातासम्म बिहान ८ देखि दिउँसो ३ बजेसम्म काम गर्नेछन् ।