
नेपालअखबार, काठमाडौँ । नेपाली कांग्रेसले संसदीय छानबिन समिति गठन गरी सहकारीको रकम अपचलनबारे निरूपण हुनुपर्ने बताएको छ । बुधबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठकले सहकारीका बचतकर्ताहरूको बचत सुरक्षित गर्न दबाब दिने निर्णय गरेको हो ।
बैठकले सहकारी ठगी गर्ने उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसहितका पीडकहरूलाई कारबाहीको दायरामा ल्याउन दबाब दिने निर्णय गरेको कांग्रेस प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।
उनले भने,‘बैठकले सभामुखले गरेको संसदीय अभ्यास विरुद्धको गतिविधिको विरोध गरेको छ । सत्ता दुरुपयोगलाई लिएर संसदमा कुरा उठाइरहेका छौँ । संसदीय मर्यादाको खिलाफमा सरकार प्रस्तुत भएको छ । सभामुखले संसद्को गरिमा पालना गर्न सक्नुभएको छैन ।’
सरकार निरङ्कुशता उन्मुख भइरहेको भन्दै प्रवक्ता महतले यसप्रति कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको बताए ।
कांग्रेसले कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया प्रतिशोधको भावनाले पक्राउ भएको प्रष्ट पारेको छ । प्रवक्ता महतले मिडियालाई बिस्तारै नियन्त्रणमा लिने र त्रासमा राखने काम भएको बताए ।

