Wednesday, August 12

कालीगण्डकीको ‘स्टिमर’मा बुद्धिचाल प्रतियोगिता सुरु

नेपालअखबार,  वालिङ (स्याङ्जा) । स्याङ्जाको कालीगण्डकी गाउँपालिका–७ स्थित आँधीमुहानमा मोटरबोट (स्टिमर)मा आजदेखि बुद्धिचाल प्रतियोगिता सुरु भएको छ ।

Advertisement

कालीगण्डकी गाउँपालिका र गण्डकी प्रदेश खेलकुद परिषदको संयुक्त आयोजनामा गण्डकी प्रदेशस्तरीय अन्तर जिल्ला बुद्धिचाल प्रतियोगिता सुरु भएको हो ।

Advertisement
Advertisement

धार्मिक महत्व बोकेको कालीगण्डकी र आँधीखोलाको सङ्गमस्थल आँधीमुहानमा सञ्चालित देशकै पहिलो मोटरबोट (स्टिमर) मा प्रदेशस्तरीय बुद्धिचाल प्रतियोगिता थालिएको गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले बताए ।

Advertisement

खेलकुदका माध्यमबाट यहाँको धार्मिकस्थलहरुको प्रचारप्रसार गर्ने र आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गन स्टिमरमा प्रतियोगिता सञ्चालन गरिएको उनको भनाइ छ ।

‘पछिल्लो समय लोकप्रिय बन्दै गइरहेको बुद्धिचाल प्रतियोगिता गाउँपालिकामा आयोजना गर्नुको मुख्य उद्देश्य नै खेलाडी उत्पादन गर्ने र खेल पर्यटनको विकास गर्ने हो’, अध्यक्ष थापाले भने, ‘वौद्धिक क्षमताको विकासमा मद्दत पुर्‍याउने भएकाले पनि यसलाई प्राथमिकताका साथ अगाडि बढाएका हौं ।’

दुई दिनसम्म सञ्चालन हुने प्रतियोगितामा गण्डकी प्रदेशका आठ जिल्ला र आयोजकका रुपमा रहेको कालीगण्डकी गाउँपालिका गरी नौ टोलीका ३६ जना सहभागी भएका प्रदेश बुद्धिचाल सङ्घका अध्यक्ष युवराज भण्डारीले जानकारी दिए ।

उनका अनुसार जिल्ला–जिल्लामा रहेका बुद्धिचाल सङ्घको सिफारिसका आधारमा प्रत्येक जिल्लाबाट दुई पुरुष र दुई महिला गरी चारजना खेलाडी सहभागी भएका हुन् ।

प्रतियोगिता सम्पन्न गर्न कालीगण्डकी गाउँपालिकाले रु तीन लाख र गण्डकी प्रदेश खेलकुद परिषदले तीन लाख रुपैयाँ विनियोजन गरेका छन् ।

कालीगण्डकी ‘ए’ जलविद्युत् परियोजनाको बाँधस्थल आँधीमुहानमा सुरु भएको प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेशका लेखा समिति सभापति सुधीरकुमार पौड्यालले उद्घाटन गरे ।

खेलकुदका माध्यमबाट स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा आफ्नो पहिचान स्थापित गर्नका लागि यस प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने विश्वास उनले व्यक्त गरे ।

‘कालीगण्डकी क्षेत्रको आर्थिक, धार्मिक, पर्यटकीय एवम् सांस्कृतिक महत्वको प्रचारप्रसारमा महत्वपूर्ण भूमिका यस प्रतियोगिताले गर्नेछ’, लेखा समिति सभापति पौड्यालले भने ।

उक्त परियोजनाले बाँध बाँधेपछि निर्माण भएको कृत्रिम जलाशयमा स्टिमर सञ्चालन हुँदै आइरहेको छ । बाँधस्थलबाट करिब सात किलोमिटर टाढासम्म जलाशय रहेको छ ।

स्याङ्जाको आँधीमुहानमा रहेको जलाशयमा सञ्चालन हुँदै आएको स्टिमरबाट स्याङ्जा, पर्वत र गुल्मीको सङ्गलमस्थलमा रहेको सेतीवेणी शिलासम्म सहजरुपमा यात्रा गर्न सकिन्छ ।

कुनै बेला यात्रु तथा सामान ढुवानीको मुख्य साधनका रुपमा स्थापित भएको स्टिमर सेवा अहिले कालीगण्डकी कोरिडोर खुलेसँगै प्रभावकारी हुँदै जान थालेको छ ।