Monday, May 25

यी स्थानमा आज भारी वर्षा हुने

नेपालअखबार, काठमाडौं । हाल देशभर मनसुनी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

गत जेठ २८ गते नेपाल प्रवेश गरेको मनसुन सोमबार देशफर फैलिएको थियो। सोमबार दिउँसो महाशाखाले बुलेटिनमार्फत् मनसुनी वायु देशभर फैलिएको बताएको हो।

Advertisement

मनसुनी वायु देशभर फैलिएसँगै अहिले बिहान कोशी, मधेस, लुम्बिनी, सुदूरपश्चिम प्रदेशमा वर्षा भइरहेको छ। पछिल्लो एक घन्टाको अवधिमा सुनसरीको सप्तकोशीमा ४१.६ मिलिमिटर वर्षा भएको छ। त्यस्तै रुपन्देहीमा ३५.६, दाङको कोइलाबासमा २७.८ मिलिमिटर पानी परेको छ। पछिल्लो २४ घन्टामा सुनसरीको सप्तकोशीमा १३४.८, कास्कीको चोम्रोङमा ८२.८, म्याग्दीको तातोपानीमा ८१.६ मिलिमिटर वर्षात् भएको छ। त्यस्तै कैलालीको बलियामा ६२.८ मिलिमिटर पानी परेको छ।

मंगलबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा पूर्ण बदली रही बाँकी भू–भागमा आंशिक देखि साधारणतया बदली रहने छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।