नेपालअखबार ,काठमाडौं । नक्कली स्मार्ट लाइसेन्स बनाएको आरोपमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले बुटवलस्थित यातायात कार्यालयका तत्कालिन प्रमुखसहित १५ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले तयार पारेको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिलले जिल्ला अदालतमा लिखतसम्बन्धी कसूरमा मुद्दा दर्ता गरेको हो ।
फरार रहेका लक्ष्मण पाण्डे, रामकृष्ण श्रेष्ठ, ज्ञानराज पाण्डे, यातायात व्यवस्था कार्यालय बुटवलका तत्कालीनसहायक कम्युटर अपरेटर नारायणप्रसाद पाण्डे, झापाका विवेक भण्डारी, कावासोतीका प्रबिन भनिने फानेश्वर सापकोटा र नवलरासीका सन्दीप श्रेष्ठविरुद्ध पनि मुद्दा दर्ता भएको छ ।
उनीहरुविरुद्ध मुलुकी फौजदारी अपराध संहिताको दफा २७६ अनुसारको लिखतसम्बन्धी कसुरमा मुद्दा दायर गरिएको छ । जसमा ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।
१ लाखमा नक्कली लाइसेन्स
यो समूहले१ लाख रुपैयाँसम्म लिएर लाइसेन्स बनाएको खुलेको सीआईबीका प्रवक्ता एसपी होविन्द्र बोगटीले जानकारी दिए । झविलाल भण्डारी, रोशन पाण्डे, उदयबहादुर विक गणेशबहादुर क्षेत्री मोहनप्रसाद कोइराला, राजकुमार श्रेष्ठलगायतबाट मोटो रकम असुलेर लाइसेन्स बनाइएको सीआईबीले पत्ता लगाएको छ ।
झविलालबाट ३५ हजार, रोशनबाट ५० हजार र उदयबाट १ लाख रुपैयाँ लिएको पाइएको सीआईबीका एक अधिकारीले जानकारी दिए ।छिरिङ तामाङले पनि ४५ हजार रुपैयाँ उपसचिव अर्यालको समूहलाई तिरेर लाइसेन्स बनाएको बताएका छन् ।
यो समूहले इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स (इडीएल) लागु हुनु भन्दा पहिला जारी भएका पेपरकार्ड लाइसेन्सलाई इडीएलमा रुपान्तरण गर्दा यातायात कार्यालयको ढड्डामा भएको अभिलेख विपरीत फर्जी लाइसेन्स जारी गरेको पाइएको छ ।
काठमाडौं उपत्यकामा २०७२ र उपत्यका बाहिर २०७५ सालदेखि स्मार्ट लाइसेन्स वितरण सुरु गरिएको थियो । त्यसअघि जारी भएका पेपर कार्ड लाइसेन्सलाई विस्थापित गर्दै स्मार्टमा लैजाने तयारी गरिएको थियो । जसअनुसार लाइसेन्स नवीकरण गर्न जाने र हराएर प्रतिलिपी बनाउन जानेहरुलाई स्मार्ट लाइसेन्स दिने गरिएको थियो ।
यही मौकामा उपसचिव अर्यालसहितको समूहले नयाँ लाइसेन्स बनाउन आउनेहरुलाई नवीकरण गर्न आएको भन्दै सिस्टममा गलत डेटा इन्टी गरेर लाइसेन्स दिएको सीआईबीको अनुसन्धानबाट खुलेको छ ।
सीआईबीले यसअघि नक्कली लाइसेन्स प्रकरणकै दुई वटा मुद्दामा अनुसन्धान गरेको थियो । सीआईबीेले अनुसन्धान गरेको पहिलो कसुुर ‘बी’ (कार, जिप भ्यानजस्ता हलुका सवारी साधन) वर्गको लाइसेन्स नभएका व्यक्तिले चलाएको कारको ठक्करबाट पैदलयात्रीको मृत्यु भएपछि रकम लिएर चालकलाई हिरासतमै लाइसेन्स बेचिएको घटना थियो ।
त्यसपछि सीआईबीले लाइसेन्सको फास्ट ट्रयाक प्रिन्टमा भएको अनियमितता बारेमा अनुसन्धान गरेको थियो । दुबै प्रकरणका आरोपितहरु अदालतमा धरौटी बुझाएर रिहा भएका छन् ।