
नेपालअखबार, काठमाडौँ । कोपा–अमेरिका फुटबलको अर्जेन्टिना र कोलम्बियाबिच जारी फाइनल खेलको निर्धारित समयको गोलरहित बराबरीमा सकिएको छ । दर्शकले होहल्ला गरेका कारण खेल निर्धारित समयभन्दा निकै ढिलो सुरु भएको थियो ।
अमेरिकाको फ्लोरिडास्थित हार्ड रक स्टेडियममा खेल हेर्न टिकट नपाएका दर्शकले होहल्ला गरेका कारण खेल निर्धारित समयभन्दा एक घण्टा १५ मिनेट ढिलो सुरु भएको थियो । खेल हेर्न टिकट नपाएका दर्शकले रंगशालाको मुख्य गेटमा होहल्ला गरेका थिए ।
नेपाली समय अनुसार, खेल बिहान ०५ः४५ बजे सुरु हुनुपर्ने थियो । तर, आक्रोशित दर्शकको हस्तक्षेपका कारण खेल बिहान ०७ः०० बजे मात्र सुरु भएको थियो । आयोजकले टिकट नपाएका दर्शकलाई पनि खेल हेर्ने व्यवस्था मिलाएको थियो ।
होहल्ला गर्ने करिब १५ जना समर्थकलाई प्रहरीले पक्राउ गरेको पनि समाचारमा जनाइएको छ । उनीहरूलाई रिहा गरिसकिएको बताइएको छ । आयोजकले सबै दर्शकलाई खेल हेर्ने व्यवस्था मिलाउन लामो समय रंगशालाको गेट खुला राखेको थियो ।


