Tuesday, April 21

सर्वोच्चमा प्रहरीमाथि हातपात गरेको आरोपमा एक वकिल पक्राउ

नेपालअखबार, काठमाडौँ । सर्वोच्च अदालतमा एक जना महिला प्रहरीमाथि हातपात गरेको आरोपमा प्रहरीले एक जना वकिललाई पक्राउ गरेको छ।

सोमबार दिउँसो सवा २ बजेतिर प्रहरीमाथि हातपात गरेको आरोपमा प्रहरीले काठमाडौं महानगरपालिका वडा नम्बर ११ माइतीघर मण्डलास्थित लिंकन ल फर्ममा कार्यरत २८ वर्षीया लुमा चौधरीलाई पक्राउ गरेको हो।

Advertisement

उनीमाथि अभद्र व्यवहारको कसुरमा अनुसन्धान गर्न प्रहरी वृत्त सिंहदरबारमा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए।

सर्वोच्चका बेन्च सहायक देवीप्रसाद प्रधानसँग छत्रप्रसाद लुइँटेलको रिट निवेदनको फैसला भएको नक्कल लिने विषयमा विवाद भएको थियो।

आपसी भनाभन हुँदा प्रहरी बोलाइएको थियो। प्रहरीले सोधपुछ गर्न खोज्दा वकिल चौधरीले महिला प्रहरी कर्मचारीमाथि हात हालेको एसपी अधिकारीले बताए।  यसरी अभद्र व्यवहार गरेको भन्दै प्रहरीले चौधरीलाई पक्राउ गरेको हो।