Saturday, May 23

३१ वटा युट्युब च्यानल लगायतका सामाजिक सञ्जाल काउन्सिलको कारबाहीमा

नेपालअखबार, काठमाडौँ । प्रेस काउन्सिल नेपालले पछिल्लो १५ दिनमा पत्रकार आचारसंहिता विपरीतका सामग्री सम्प्रेषण गर्ने ३१ वटा युट्युबलगायत सामाजिक सञ्जाललाई कारबाही गरेको छ।

मङ्गलबार विज्ञप्ति जारी गर्दै काउन्सिलले सञ्चार माध्यमका रूपमा दर्ता/सूचीकरण भएका वा नभएका तर समाचारको शैलीमा द्वन्द्व बढाउने, चरित्रहत्या गर्ने तथा एकपक्षीय आरोपका सामग्री सम्प्रेषण गर्ने माध्यमलाई कारबाही गरिएको जनाएको हो।

Advertisement

मिडिया अन्तर्गत सूचीकृत भएका यस्ता ३ वटा माध्यमलाई काउन्सिलले आचारसंहिता प्रतिकूल देखिएका अंश हटाई सम्पादन गर्न, सामग्री स्थगन गरी २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न र अश्लील सामग्री तत्काल हटाउन निर्देशन दिएको छ।

हेल्लोटिभी टिभी नेपाल फेसबुक पेज, पिएनपि मिडिया र नागरिकपत्र युट्युब च्यानल यस्तो कारबाहीमा परेका हुन्।

काउन्सिलले हिंसा, आतङ्कलाई प्रश्रय पुग्ने, निराधार, अफवाहपूर्ण, अतिरञ्जित थम्बनेल (Thumbnail) सहितको शीर्षक दिई भ्रमपूर्ण, अमर्यादित, अश्लील सामग्री सम्प्रेषण गर्ने माध्यममाथि कारबाही अघि बढाएको विज्ञप्तिमा उल्लेख छ।

यस्तै, मिडिया सम्बन्धित नभएका तर मिडियाकै शैलीमा अश्लील सामग्री सम्प्रेषण गर्ने २८ वटा युट्युब च्यालनलाई त्यस्ता सामग्री तत्काल हटाउन तथा थप अनुसन्धान र कारबाहीका लागि नेपाल प्रहरी (साइबर ब्युरो)मा पत्राचार गरिएको काउन्सिलले जनाएको छ। गत आर्थिक वर्षमा काउन्सिलले यस्ता ४३ वटा विभिन्न माध्यमलाई कारबाही गरेको छ।

यसैबीच, काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले युट्युबको नियमनका लागि छुट्टै मापदण्डअनुसार कारबाही गरिएको बताए।

‘डिजिटल प्लेटफर्मका कुनै पनि माध्यमबाट आधारहीन, एकपक्षीय, भ्रामक र पूर्वाग्रही सामग्री दिन मिल्दैन। केही समयदेखि हामीले त्यस्ता माध्यमबाट प्रसारित मिथ्या सामग्रीलाई सच्याउन, सम्पादन गर्न र आवश्यकताअनुसार अन्य कारबाही थालेका हौं,’ उनले भने, ‘युट्युब माध्यमलाई नियमन र कारबाही गर्न बेग्लै मापदण्ड जारी गरेका छौं। सञ्जाललाई दुरूपयोग होइन, सदुपयोग गर्न र सञ्चार क्षेत्रको प्रवर्द्धनका लागि जुट्न हामी सबै केन्द्रित हुनुपर्छ। पत्रकारिताको रचनात्मक प्रयोगका लागि समेत यो जरूरी छ।’