Wednesday, August 12

काँक्रेबिहारमा फोटो खिच्न जानेसँग मनोमानी पैसा असुली

नेपालअखबार,सुर्खेत । सुर्खेतको प्रमुख पर्यटकीय क्षेत्रमध्येको काँक्रेबिहारमा तस्बिर खिच्न जानेहरूबाट मनोमानी पैसा उठाउने गरेको पाइएको छ।

Advertisement

उक्त क्षेत्रभित्र जाने पर्यटकहरूको तस्बिर खिच्न भनेर काँक्रेबिहार जाने क्यामरा पर्सनहरूबाट मनोमानी पैसा उठाउने गरिएको पाइएको हो।

Advertisement
Advertisement

दैनिक पाँच सय रुपैयाँका दरले उनीहरूबाट शुल्क लिँदा रसिद वा कुनै बिल समेत दिइएको छैन।

Advertisement

एक महिनादेखि मनोमानी पैसा असुली गरेको क्यामरा पर्सन सुमन चौधरीले बताए।

‘काँक्रेबिहार गएर तस्बिर खिच्ने हामी दुई–तीन जना मात्र छौं, पहिले पैसा लाग्दैन थियो, अहिले दैनिक पाँच सय रुपैयाँ तिर्नुपर्छ,’ उनले भने, ‘अरूबाट फोटो खिचाउने पर्यटकहरू कमै हुन्छन्, हाम्रो कमाइ नै पाँच सय हुँदैन, त्यसैमाथि रसिद पनि दिइँदैन।’

उनका अनुसार काँक्रेबिहारको गेटमा पर्यटकहरूको टिकट काट्न बसेकाले क्यामरा पर्सनबाट पैसा उठाउने गरेका छन्।

‘मलाई वडाले पैसा उठाउन भनेको छ, पैसा नदिए भित्र जान पाइँदैन भन्छन्,’ सुमनले भने, ‘हामीलाई कुनै रसिद नै नदिएर उठाएको त्यो पैसा कहाँ जम्मा हुन्छ भन्ने हामीले पनि त जान्न पाउनुपर्‍यो।’

यो विषयमा आफूले वडा कार्यालयमा गएर कुरा राखेको र कार्यालयले खासै वास्ता नगरेको बताए।

वडा कार्यालयमा यसबारे गुनासो आएको वीरेन्द्रनगर–९ का वडासचिव कल्पना लामाले बताइन्। यही विषयमा छलफल चलाइएको उनले बताइन्।

‘पैसा उठाएका छन् भनेर गुनासो वडामा आएको थियो, शुक्रबार नै छलफल गर्ने कुरा भएको हो,’ उनले भनिन्, ‘सेवाग्राहीको चाप भएर म सहभागी हुन पाइनँ, छलफलबाट केही निष्कर्ष निस्किएला।’

वीरेन्द्रनगरमा रहेका पर्यटकीय स्थलहरू बुलबुले र सहिद पार्कमा पनि पेशागत रूपमा तस्बिर खिच्न जानेहरूबाट निश्चित शुल्क लिइन्छ। बुलबुलेमा दैनिक ६०० र सहिद पार्कमा दैनिक १५० रुपैयाँ शुल्क लिने गरिएको छ। तर यी दुवैमा ठेक्का प्रक्रिया गरी नगरपालिकाले पनि निश्चित राजस्व उठाउने गरेको छ।

काँक्रेबिहारमा भने त्यस्तो कुनै प्रक्रिया पूरा गरिएको छैन।