
नेपालअखबार,पोखरा। राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वसांसद ढाका कुमार श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । श्रेष्ठलाई पोखराबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, कास्कीले बताएको छ ।
पोखरा महानगरपालिका–९ स्थित पृथ्वी चोकमा श्रेष्ठले सञ्चालन गरेको दिया फार्मेसीबाट प्रतिबन्धित ट्रामाडोल बेचबिखन हुने गरेको भेटिएको छ ।
साउन ३ मा बागलुङ बसपार्कबाट रोल्पाको त्रिवेणी गाउँपालिका–७ घर भएका ४२ वर्षीय प्रकाश थापा मगर पक्राउ परेका थिए । उनको साथबाट बरामद ९७ थान ट्रामाडोल उनले दिया फार्मेसीबाट खरिद गरेको बयान दिए । सो बयानको आधारमा अदालतबाट पक्राउ अनुमति लिएर डा. श्रेष्ठलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, कास्कीले जानकारी दिए । समानुपातिक कोटामा सांसद बनेका श्रेष्ठ ‘अडियो प्रकरण’ पछि निष्कासनमा परेका थिए ।


