Wednesday, May 13

लेबनन र सिरियामा एकसाथ सयौं ‘पेजर’ विस्फोट

नेपालअखबार, काठमाडौँ  लेबनन र सिरियाका केही ठाउँहरूमा मंगलबार अपराह्न सयौं ‘पेजर’ हरू एकसाथ विस्फोट भएका छन्।

बिबिसीका अनुसार विस्फोटमा परी अहिलेसम्म ९ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा उग्रवादी समूह हिजबुल्लाहका सदस्यहरू र एक बालिका छन्।

Advertisement

घटनामा २ हजार सात सय पचास जनाभन्दा बढी घाइते भएका छन्। घाइतेमध्ये दुई सय जनाको अवस्था गम्भीर भएको लेबननका स्वास्थ्य मन्त्री फिरास अबियादले जानकारी दिएका छन्।

घाइते हुनेमा इरानी राजदूत पनि छन्। इरानको सरकारी सञ्चालित आइआरएनए समाचार एजेन्सीका अनुसार राजदूत मोजताबा अमानीलाई विस्फोट भएको पेजरले सामान्य चोट लागेको छ। उनको अस्पतालमा उपचार भइरहेको छ।

घटनापछि लेबननको सीमा क्षेत्रमा तनाव बढेको छ। हिजबुल्लाहले यो घटनामा इसराइललाई दोषी ठहर्‍याएको छ र कारबाहीको चेतावनी दिएको छ। इसराइली सेनाले भने यसबारे कुनै टिप्पणी गरेको छैन।

हिजबुल्लाहका नेता हसन नसरल्लाहले यसअघि समूहका सदस्यहरूलाई इसराइलले उनीहरूको गतिविधि ट्र्याक गर्न र लक्षित आक्रमण गर्न फोन प्रयोग गर्न सक्ने भनेर मोबाइल नबोक्न चेतावनी दिएका थिए।

नाम नखुलाउने सर्तमा बोल्ने हिजबुल्लाहका एक अधिकारीले एपीलाई बताए अनुसार समूहले प्रयोग गर्ने नयाँ ब्रान्डका पेजरहरू पहिले तातेका थिए। अनि विस्फोट भएका हुन्।

लेबननको स्वास्थ्य मन्त्रालयले पेजर भएका मानिसहरूलाई यसबाट टाढा रहन भनेको छ। साथै स्वास्थ्यकर्मीहरूलाई वायरलेस उपकरण प्रयोग नगर्न पनि सुझाव दिएको छ।