Wednesday, June 3

गोरखाको ठेउवाटारमा पाँच दिनदेखि बिजुली अवरुद्ध

नेपालअखबार,गोरखा। गोरखाको शहीद लखन गाउँपालिका वडा नम्बर ४ ठेउवाटार र आसपासका क्षेत्रमा बाढीले बिजुलीको पोलमा क्षति पुर्‍याएपछि पाँच दिनदेखि बिजुली अवरूद्ध छ।

ठेउवाटार र चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ४ धारापानी जोड्ने झोलुङ्गे पुल बाढीले बगाउँदा बिजुलीका पोलमा क्षति पुगेपछि सेवा अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरण मुग्लिन वितरण केन्द्रका प्रमुख शेषमणि अधिकारीले बताए।

Advertisement

‘झोलुङ्गे पुलसँगै बिजुलीका चार वटा खम्बामा बाढीले क्षति पुर्‍याएको छ। खम्बामा टाँगिएका सबै तार त्रिशुली नदीले बगाएपछि नयाँ तार फेरेर अवरुद्ध विद्युत् सञ्चालन गर्ने तयारी भइरहेको छ,’ उनले भने।

क्षति भएका खम्बा मर्मत गरिसकिएको बताउँदै अधिकारीले विद्युत् नियमित सञ्चालन हुने बताए।

‘पोल मर्मत गरी नयाँ तार नयाँ फेर्ने काम सकिएको छ। तत्काल विद्युत् सञ्चालन गर्ने तयारी भइरहेको छ,’ उनले भने। विद्युत् अवरुद्ध हुँदा ठेउवाटार, माथिल्लोटार, तल्लोटार र आसपासका क्षेत्रका बासिन्दाको दैनिकी प्रभावित भएको सहिदलखन–४ का वडाध्यक्ष यामबहादुर थापाले बताए।