Saturday, July 11

सडक अभावले गोरखामा कुहिँदै करोडौँको स्याउ, बजार ल्याइदिन सरकारसँग माग

नेपालअखबार,गोरखा । गोरखाको चुमनुब्री गाउँपालिकामा ३० हजार बोटमा फलेका करोडौँ मूल्य बराबरको स्याउ कुहिने अवस्थामा पुगेको भन्दै जनप्रतिनिधि र व्यवसायीले सरकारसँग बजारसम्म स्याउ ल्याइदिन माग गरेका छन् ।

Advertisement

उत्पादन महाअभियान नेपालका अध्यक्ष रमेश पण्डितले सडक अभावले गाउँमै अलपत्र परेको स्याउलाई अनुदानमा बजारसम्म ल्याउने व्यवस्था गरिदिन सरकारसँग माग गरे। उनले भने “कृषि र पर्यटनको अथाह सम्भावना रहेको गोरखाको चुमनुब्री गाउँपालिकामा करोडौँको स्याउ बाटो नहुँदा बजारसम्म ल्याउन नसकेर कुहिने अवस्थामा पुगेको छ, सरकारले ती स्याउलाई बजारसम्म ल्याउने व्यवस्था गरिदिनुपर्छ ।”गत महाअष्टमीको दिनमा महाअभियानले हेलिकप्टरबाट चार सय ५० किलो स्याउ काठमाडौँ ल्याउँदा प्रतिकेजी रु छ सय ६६ पर्न गएको भन्दै सरकारले ती स्याउ नल्याए किसानको करोडौँको स्याउ कुहिने बताए ।

Advertisement
Advertisement

चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले भौगोलिक दृष्टिकोणले विकट रहेको हिमालपारीको गाउँ चुमनुब्रीमा स्याउका ३० हजार बिरुवाको खेती रहेकामा यातायातको सुविधा नहुँदा करोडौँको स्याउ बिग्रने अवस्थामा पुगेको बताए ।

Advertisement

उनले यहाँको स्याउलाई मनास्लु स्याउ नामकरण गरेको बताए । उनले कृषि र पर्यटनलाई जाड्नेगरी छिटो सडकको पहुँच पुर्‍याए स्याउ, कोदो, मकैको लोकल रक्सी र वाइन उत्पादनगरी ब्राण्ड बनाउन सकिने धारणा राखे ।

बाह्र हजार पाँच सय स्याउको बोट लगाएका पर्यटन व्यवसायी लाक्पा ढुड्डु लामाले आफूले स्याउको बिरुवा रोप्दा तीन वर्षसम्ममा गाउँमा सडक पुग्ला भन्ने सोचेर खेती सुरु गरे पनि सडक नपुग्दा नोक्सानी व्यहोर्नु परेको बताए।

उनले भने, “गत वर्षभन्दा यस वर्ष दोब्बर स्याउको उत्पादन बढेको छ, एउटा बोटमा कम्तीमा ४५ वटा स्याउ फल्छ, मेरोमा मात्रै पाँच लाख दाना छ, केही स्याउको दाना, सुकुटी, वाइनलगायत बनाएर बिक्री गरौँला, करिब तीन लाखभन्दा बढी स्याउ कुहिने अवस्थामा पुगेको छ, अरु किसानको पनि अवस्था उस्तै छ ।”

गोरखाकै धार्चे गाउँपालिकाकी उपाध्यक्ष सुनिला गुरुङले आफ्नो पालिकामा आलु, किबी, ड्रागन फ्रुटको प्रशस्त खेती रहे पनि बजार नपाएको बताउनुभयो । उनले भने, “किबी र ड्रागन फ्रुटको उत्पादन राम्रो छ, तर सडक नपुग्दा बजार नपाएको अवस्था छ ।”