
नेपालअखबार,काठमाडौं। काठमाडौं महानगरपालिकाले तिहारमा फूल बेच्न ४६ ठाउँ तोकेको छ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिँदै प्लास्टिकका फूल बिक्री निषेध गरिएको बताएका छन्।
‘काठमाडौं महानगरपालिकाले स्वदेशमा उत्पादन भएका फूलको बिक्रीलाई व्यवस्थित गर्न यस वर्षको दीपावली, नेपाल संवत् तथा छठ पर्वका अवसरमा महानगरपालिका क्षेत्रभित्रका ४६ स्थानमा बिक्रीको प्रबन्ध गरेको छ। प्लाष्टिकजन्य फूल तथा सजावटका सामग्री बिक्रीमा रोक लगाउँदै स्वदेशमा उत्पादन भएका फूलको व्यापारलाई प्रवर्द्धन गरिएको हो,’ उनले भनेका छन्।
गत वर्ष महानगरले प्रदर्शनी मार्गको भृकुटीमण्डप, तीनकुने चौर, हाँडीगाउँ र बालाजु विष्णुमती कोरिडोरमा फूल बिक्री गर्न ठाउँ तोकेको थियो।
उक्त स्थानमा फूल तथा माला बिक्री नभएपछि कृषकहरूले त्यत्तिकै छाडेर हिँडेका थिए।गत वर्षको सिकाइ र अभ्यासबाट यस वर्ष फूल विक्रेता किसानहरूलाई सहज बनाउने प्रयास गरिएको मेयर शाहले बताएका छन्।
यस वर्ष मल, मार्ट, पार्क, पार्टी प्यालेस, सेन्टरहरूमा बिक्रीको प्रबन्ध गरिएको मेयर शाहले बताएका छन्।

