Tuesday, May 12

सोभियत क्रान्तिले सम्पूर्ण श्रमजीवी जनतालाई राजनीतिक अधिकार प्रदान गरेको हो : अध्यक्ष नेपाल

नेपालअखबार,काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले विश्वभरिका सम्पूर्ण मजदुर, किसानलगायत श्रमजीवी जनतालाई राजनीतिक अधिकार प्रदान गर्न सोभियत क्रान्तिले दिशानिर्देश गरेको बताएका छन् ।

पार्टीको विदेश विभागले एक सय सातौँ अक्टोबर क्रान्ति दिवसका अवसरमा आज यहाँ आयोजना गरेको विचारगोष्ठीमा अध्यक्ष नेपालले शोषणरहित वैज्ञानिक समाजवादको निर्माण गरेर उक्त क्रान्तिले एउटा सभ्य, सुसंस्कृत, समुन्नत मानवीय समाजको निर्माण गर्न सन्देश दिएको बताए ।

Advertisement

गम्भीर सैद्धान्तिक विचलन तथा आन्तरिक र बाह्य षड्यन्त्रका कारणले सात दशकसम्म चलेको सोभियत सङ्घ अन्ततः विघटनको संघारमा पुगेको उनको भनाइ थियो ।

सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले सोभियत समाजवादले तीन सय वर्षको राजसंस्थाको अन्त गरी श्रमजीवी पक्षधरको सत्ता स्थापित गरेको र त्यसले मानव समाजको गन्तव्यलाई प्रष्टसँग उजागर गरेको विचार व्यक्त गरे ।

कम्युनिष्ट पार्टी (सिपिसीआर) रसियाका अध्यक्ष सर्गेई मालिन्कोविचले उक्त क्रान्तिले जनजीविका र देश विकासमा पारेको प्रभावबारे चर्चा गर्दै विश्वको सुनिश्चित भविष्यको आशा र भरोसाको विकल्प वैज्ञानिक समाजवाद भएको धारणा प्रकट गरे ।

सिपिसीआर रसिया ब्रायन्स्क क्षेत्र प्रमुख रसिया एलेना डेगटियारेवाले सामाजिक र सांस्कृतिक एकता कायम गर्दै राजनीतिक विकासक्रममा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको क्रान्तिले ल्याएको राजनीतिक तथा आर्थिक परिवर्तनले विश्वभरि दूरगामी प्रभाव पारेको बताए ।

एकीकृत समाजवादीका विदेश विभाग सचिव डा. शंकर खतिवडाले आफ्नो विभागको निमन्त्रणामा नेपाल भ्रमणमा रहेका रसियाली नेताको सहभागितामा कार्यक्रम गरिएको जानकारी दिए । सन् १९१७ मा उक्त क्रान्ति सम्पन्न गरिएको बताइएको छ ।