Monday, July 6

वीरगञ्ज नाकाबाट घट्यो चारपांग्रे सवारीको आयात

नेपालअखबार,वीरगञ्ज । वीरगञ्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा चारपांग्रे सवारीसाधनको आयात घटेको छ। वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालु आवको पाँच महिनामा ९२ करोड तीन लाख ३६ हजार मूल्य पर्ने चार सय ८२  जीप, कार र भ्यान आयात भएका छन्।

Advertisement

गत आवको पाँच महिनाका तुलनामा चालु आवको सोही अवधिमा संख्याको आधारमा ३८ दशमलव १३ प्रतिशत र राजस्वको आधारमा १६ दशमलव ४३ प्रतिशतले सवारीसाधनको आयात घटेको हो। जबकि गत आवको सोही अवधिमा भने एक अर्ब २० करोड १४ लाख दुई हजार मूल्य पर्ने सात सय ७९ वटा जीप, कार र भ्यानको आयात भएको थियो। ती सवारीसाधन आयात हुँदा कार्यालयले रु दुई अर्ब ८० करोड ९१ लाख राजस्व संकलन गरेको थियो।

Advertisement
Advertisement

इन्धनबाट चल्ने जीप, कार र भ्यानको मात्रै नभएर वीरगञ्ज नाका हुँदै भित्रिने चारपांग्रे विद्युतीय सवारीसाधनको पनि आयात घटेको भन्सारको तथ्यांकले देखाएको छ। चालु आवको पाँच महिनामा यो नाका हुँदै  १४ करोड ७८ लाख छ हजार मूल्य पर्ने ९७  विद्युतीय जीप, कार र भ्यानको आयात भएको छ।

Advertisement

गत आवको पाँच महिनाको तुलनामा चालु आवको सोही अवधिमा विद्युतीय सवारीसाधनको सङ्ख्याका आधारमा आयात ५९ दशमलव ०७ प्रतिशत र राजस्व संकलनका आधारमा भने ५८ दशमलव ६३ प्रतिशतले गिरावट आएको छ। गत आवको सोही अवधिमा भने ४६ करोड ५८ लाख ५३ हजार मूल्य पर्ने दुई सय ३७ वटा विद्युतीय जीप, कार र भ्यानको आयात भएको थियो। ती सवारीसाधन आयात हुँदा कार्यालयले २० करोड ३५ लाख ५८ हजार राजस्व संकलन गरेको थियो।