Saturday, May 2

सिंगापुरमा बढ्दैछ नक्कली बिहे किन ?

नेपालअखबार,सिंगापुर । सिंगापुरमा नक्कली विवाहका मामिलाहरू लगातार बढिरहेका छन् । सिंगापुरका पुरुषहरूले पैसा कमाउन विदेशी महिलासँग नक्कली विवाह गरेका घटना बाहिरिरहेका छन् ।

लामो समयसम्म सिंगापुरमा बस्न र काम गर्न विदेशी महिलाहरूले त्यहाँका स्थानीय पुरुषसँग झुठो विवाह गरेको घटना बढ्न थालेपछि सिंगापुरका अधिकारीहरू चिन्तित भएका छन् । पछिल्लो समय नक्कली विवाह गर्ने सिन्डिकेट खुलेपछि अधिकारीहरु सचेत भएका छन् । यस्ता विवाहले सामाजिक समस्या बढाउने भन्दै सिंगापुर इमिग्रेसन एण्ड चेकपोइन्ट अथोरिटी (आईसीए)ले यस्ता मामिलाप्रति सतर्कता बढाएको छ ।

Advertisement

स्टेट टाइम्समा छापिएको एउटा खबरका अनुसार झुठा बिहेका मामिलामा अधिकारीहरूले लगातार छापा मारिरहेका छन् । सन् २०२४ मा जनवरीदेखि सेप्टेम्बरसम्म नक्कली विवाहका घटना बढेर ३२ पुगेको आईसीएले बताएको छ । २०२३ को जुनमा यस्ता मामिला चार मात्रै थिए ।

विदेशी महिलाहरूले सिंगापुरमा नक्कली बिहे गर्न पुरुषहरूलाई पैसा दिने गरेको अधिकारीहरूले बताएका छन् । तर यस्ता गतिविधिले सामाजिक स्तरमा समस्या बढाउने र विदेशीहरू अवैध गतिविधिमा संलग्न हुने सम्भावना बढ्ने पनि बताइएको छ ।

आईसीए अधिकारीहरूले भर्खरै यस्तै मामिलामा एक जोडीलाई पक्राउ गरेका थिए जहाँ श्रीमती र श्रीमान अलग्गै बस्दथे । ती पुरुषको आमालाई आफ्नो छोराको विवाह भएको थाहा थिएन । दुवै जनालाई पक्राउ गरी यस विषयमा अनुसन्धान भइरहेको छ ।

यस्ता गतिविधिलाई निरुत्साहित गर्न सरकारले कडाई गर्न थालेको छ । झुठो बिहे गरेको ठहर भएमा १० वर्षसम्म कैद र १० हजार सिंगापुर डलर जरिवाना हुनसक्छ । २०२४ को जुनमा सिंगापुरका अधिकारीहरूले १३ जना विरुद्ध नक्कली विवाह गरेको अभियोग लगाएर छानबिन थालेका छन् ।