Saturday, May 2

मानव सेवाभन्दा ठूलो अरु कुनै धर्म छैन : राष्ट्रपति पौडेल

नेपालअखबार,काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मानव सेवाभन्दा ठूलो अरु कुनै धर्म नभएको बताएका छन् । मानवसेवा आश्रमको वृत्तचित्र प्रस्तुति कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले मावन सेवा जस्तो सत्कार्यले मानव जीवनलाई सार्थक बनाउने  भएकाले यसलाई हाम्रो जीवन पद्धतिका रुपमा अपनाउनुपर्ने बताए । मानवता र  नैतिकतामा संकुचन देखिँदै गरेको अहिलेको हाम्रो समाजलाई सही बाटोमा हिँडाउन मानव सेवाले प्रेरित गर्ने उनले स्पष्ट पारे।

राष्ट्रपति पौडेलले मानव सेवा आश्रमले आफ्नो स्थापना कालदेखि नै “जसका कोही हुँदैनन् र जसको कोही हुँदैन उनैको सेवामा समर्पित हुने” मानवता प्रवद्र्धन महाअभियानमार्फत सहयोगापेक्षी सडकआश्रित मानवहरूको मानवोचित व्यवस्थापनसहित औषधोपचार, पालनपोषण र जीवन रक्षाका लागि देखाएको सक्रियता सबैका लागि प्रेरणादायी भएको बताए ।

Advertisement

आर्थिक वर्ष २०८१÷८२ को नीति तथा कार्यक्रम मार्फत नेपाल सरकारले लिएको सडक मानवको उद्धार, संरक्षण र  पुनःस्थापनामा संलग्न संघ संस्थासँग समन्वय र  सहकार्य गरी २०८२ सम्ममा नेपाललाई सडक मानवमुक्त बनाइने नीतिलाई मानवसेवा आश्रमले सहयोगापेक्षी सडकआश्रित मानवमुक्त रााष्ट्र नेपाल घोषणा तथा कार्यान्वयन गर्ने प्रतिबद्धतासहित आफ्ना गतिविधि केन्द्रित गरेर कार्यान्वयनमा सहयोगी बनेको राष्ट्रपति पौडेलको भनाई थियो ।